Wednesday, August 10

डिभी बिजेताहरुले आई १३४ बारे बुझ्ने पर्ने यो कुरा-

August 5, 2022

काठमाडौँ

कतिपय डिभी विजेताहरुलाई भिसा अन्तरवार्ताका क्रममा दूतावास वा कन्सुलेट कार्यालयहरुले आई १३४ स्पोन्सर माग्ने गरेका छन् भने कतिपय डिभी विजेताहरुलाई आई १३४ स्पोन्सर विना पनि भिसा जारी गर्ने गरिएको छ ।

यो सन्दर्भमा डिभी विजेताका लागि भिसा प्राप्त गर्न आई १३४ स्पोन्सर आवश्यक भए नभएकोबारे खसोखासले अमेरिकी विदेश मन्त्रालयलाई सोधेको छ ।

यसबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले थप स्पष्ट पार्दै भनेका छन् आवेदक कुनै पनि समयमा अमेरिकामा पब्लिक चार्ज बन्ने सम्भावना छैन भन्ने स्थापित गर्न कन्सुलर अधिकारीले आई १३४ पेश गर्न अनुरोध गर्न सक्छन् ।

अमेरिकाको अध्यामगन तथा राष्ट्रियता ऐन अनुशार आवेदकले भिसाका लागि आवेदन दिंदा कुनै पनि समयमा पब्लिक चार्ज बन्ने सम्भावना नभएकोबारे कन्सुलर अधिकारीलाई सन्तुष्ट पार्नुपर्छ ।

त्यस्तै पब्लिक चार्ज बन्ने सम्भावना नभएकोबारे अमेरिका प्रवेश गर्दा अध्यागमन अधिकारीलाई पनि सन्तुष्ट पार्नुपर्छ ।

आप्रवासी भिसा आवेदकले सामान्यतया यो मापदण्ड विभिन्न प्रकारका कागजातहरु प्रस्तुत गरेर पूरा गर्न सक्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन् ।

आवेदकसँग अमेरिकामा आफू र परिवारका सदस्यहरुलाई सहयोग गर्न प्रयाप्त व्यक्तिगत कोष भएको र उक्त कोष अमेरिकामा रोजगारी नहुन्जेलका लागि प्रयाप्त रहेको पुष्टी गरेर भविश्यमा पब्लिक चार्ज नहुने कुरा आश्वस्त पार्न सक्ने विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार त्यस्तै आवेदकले आफू र आफ्नो आश्रित परिवारलाई पाल्नसक्नेगरी अमेरिकामा रोजगारीको व्यवस्था गरेको प्रमाण पेश गरेर समेत पब्लिक चार्ज नहुने कुरा आश्वस्त पार्न सक्छन् ।

त्यस्तै अमेरिकामा रहेका आफन्त वा साथीहरुले भिसा आवेदकलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको खण्डमा समेत पब्लिक चार्ज नहुने कुरा आश्वस्त पार्न सकिनेछ ।

उल्लेखित मध्ये कुनै एक वा एकभन्दा धेरै प्रमाणहरु पेश गरेर भिसा प्राप्त गर्न सकिने विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन् ।

अमेरिकामा गास, बास र स्वास्थ्यका लागि सरकारको भर पर्ने सम्भावना भएको अवस्थालाई पब्लिक चार्जको अवस्था भनिन्छ ।

भिसा आवेदकले भिसा प्राप्त गर्दा यस्तो सरकारी सुविधा नलिने कुरा भिसा अधिकारीलाई आश्वस्त पार्न सक्नुपर्छ ।

ट्रम्प प्रशासनले ल्याएको कडा प्रकारको पब्लिक चार्जको नियम हटाइएपनि पुरानो पब्लिक चार्जको नियम भने अहिले पनि कार्यान्वयनमा रहेको छ ।खसोखास

Comment