जापान पुगेका प्रचण्डले भेट्न पाएनन् यी व्यक्तिलाई – Gandaki Chhadke
Friday, August 12

जापान पुगेका प्रचण्डले भेट्न पाएनन् यी व्यक्तिलाई

August 6, 2022

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् ।

आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए ।

आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।

आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो ।

त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’

पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो । अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने बताए ।

प्रचण्डले आफू भ्रमणको क्रममा नेपाल-जापानको सम्बन्धका साथै जापानमा रहेका नेपालीको अवस्थाको अध्ययन गर्ने बताए ।

शनिबार बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानमा बस्ने नेपालीको लागि नेपालले के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताए।

नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको भन्दै उनले जापान नेपालको प्रमुख ‘डोनर कन्ट्री’ भएकोसमेत स्मरण गरे।

आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने प्रचण्डले विश्वास लिएका छन्।

हाम्रो लागि जापान प्रेरणाको मुख्य स्रोत भएको बताएका छन्। उनले जापानको आइटीको स्थिति के छ भन्नेमा रुची रहेको बताए।

युद्धबाट प्रभावित भएको देश आफ्नै मेहेनतले यतिमाथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको प्रचण्डले बताए। यसबाट सबैले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो।

‘जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो। कसरी युद्धबाट तवाहा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो,’ उनले भने।

यसैबीच प्रचण्डले हालै संसदबाट नागरिकता विधेयक पारित गराएको भन्दै एनआरएनएको हितमा यसले काम गर्ने बताए। उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरुवात भयो भन्ने सन्देश दिन सके नेपाली फर्कने उनको भनाइ छ।

‘मेरो ध्यान आउनुहोस् फर्कनुहोस् भनेर फर्कने स्थिति हुँदैन। त्यहाँ त्यस्तो भौतिक र राजनीतिक आधार बनाइदिनु पर्‍यो जसले नेपालीहरू स्वतः आफ्नो ज्ञान सिप र सम्पती लिएर स्वदेश फर्कने वातावरण बनोस्’, उनले भने।

Comment