मंगलबार १८ आश्विन २०७९

काठमाडौं । चलचित्र विकास बोर्डले कर जति सुकै लिए पनि दर्शकले ‘प्रेम गीत–३’को हिन्दी भर्सन पनि हेर्न पाउनु पर्ने सिनेमाको निर्माण पक्षले जनाएको छ ।

हिन्दी चलचित्रसँग बोर्डले लिने चलचित्र विकास शुल्क १५ प्रतिशत ‘प्रेम गीत–३’सँग पनि लिने भनेपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले ‘प्रेम गीत–३’को हिन्दी भर्सन नेपाली दर्शकले हेर्न चाहेको भन्दै आफूहरूका लागि कर भन्दा पनि आफ्नो काम महत्त्वपूर्ण भएको बताए

यद्यपि, ‘प्रेम गीत–३’ नेपाली चलचित्र भएको र यसको नेपाली भाषाको र नेपाली टेरीटोरीको राइट्स आफूसँग भएको भन्दै उनीहरूले हिन्दी चलचित्रसरह ट्याक्स लिन नपाइने जिकिर गरे । सेन्सरमा हिन्दी चलचित्रलाई गरिने क्राइट एरियामा ‘प्रेम गीत–३’लाई राखिएको भन्दै सन्तोष र प्रदीपले आपत्ति जनाए ।

सेन्सरको समय गुजारेर नोपलमा ‘प्रेम गीत–३’को हिन्दी भर्सन रिलिज गर्नै नदिने बोर्डको उद्देश्य रहेको उनीहरूको आपत्ति छ । “यदि हामीलाई नेपालभित्रै विभेद गरिन्छ । चलचित्र लगाउनै नदिने यसरी खेल खेलेर कर्नङि गरिन्छ भने कसरी नेपाली चलचित्रको विकास हुन्छ,” सन्तोषले भने, “विभिन्न बाहानामा हाम्रो चलचित्रलाई लगाउनै नदिने षड्यन्त्र भइरहेको छ ।

बोर्डले हिन्दी चलचित्रलाई लगाउँदै १५ प्रतिशतमात्रै होइन ३० अथवा ५० प्रतिशत कर लिए पनि हुन्छ । तर, हामी हिन्दी भर्सन पनि प्रदर्शन गर्छौं ।” आफूहरू पब्लिसिटीको अन्तिम हप्ता पनि त्यसमा केन्द्रित हुन नपाएको भन्दै बोर्डको राजनीतिमा मुछिएको बताए । बोर्डले समयमै सेन्सरबारे खबर नगरेर चलचित्र लगाउनै नदिने षड्यन्त्र गरेको सन्तोषको आरोप छ ।

अभिनेता प्रदीप खड्काले आपत्ति जनाउँदै भने, “चलचित्र विकास बोर्ड हाम्रो घर हो । यसले चलचित्रकर्मी र यसको प्रदर्शनलाई सहज बनाउँदै जानुपर्नेमा उल्टै कस्दै गएको छ,” प्रदीप भन्छन्, “जनताले चित्त नबुझाउँदा राजा त हटे भने बोर्ड अध्यक्षको के कुरा । बोर्डमा चलचित्र क्षेत्रको विकास र सहजीकरण गर्ने योग्य व्यक्ति बस्नुपर्छ । त्यसका लागि योग्य व्यक्ति बोर्डमा चाहिन्छ ।”

बोर्डले हिन्दी भाषामा ‘प्रेम गीत–३’ भारतका थिएटरमा रिलिज हुँदा नेपालाई के फाइदा हुन्छ भनेर प्रश्न गरेको भन्दै सन्तोषले आपत्ति जनाए । “नेपाल सरकारले अरबौंमा गर्न नसक्ने प्रचार हामीले भारतमा गरिरहेका छौँ,” उनले भने, “भारतमा सन्तोष सेनको प्रेम गीत भनेर कसैले भन्छ ? नेपालको, हिमालयको प्रेम गीत भनेर भन्छन् । तर, आफ्नै देश त्यसमा पनि स्वयं बोर्डले यस्तो प्रश्न गरिरहको छ ।”

यसैबीच, उनले ‘प्रेम गीत–३’लाई लक्षित गरेर अबेर रातिको शो बन्द गरिएको बताए । हलहरुले साढे ८ बजेपछिको शो बन्द गरिसकेको अभिनेता प्रदीप खड्काको दाबी छ । यो चलचित्र ‘प्रेम गीत–३’ रिलिजलाई लक्षित गरेर चलचित्र विकास बोर्डले राति ११ बजेसम्म शो उतारिसक्नु पर्ने निर्णय गरेको प्रदीपको आरोप छ ।

सुरुमा सञ्चार मन्त्रालयमा रहेको शोको समय निर्धारण गर्ने अधिकार अहिले बोर्डमा आएपछि झन टाइट गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा लामो समय आक्रामक व्यवसाय गर्ने सम्भावना बोकेको चलचित्र ‘प्रेम गीत–३’लाई लक्षित गरेर बेलुकाको समयमा शो नराख्न अहिलेदेखि नै हललाई बोर्डले निर्देशन दिइसकेको सन्तोषको भनाइ छ ।

कात्तिक १ गतेबाट यो नियम लागु हुने बताइए पनि अहिलेदेखि नै ९ बजेपछिको शो नरहेको उनको दाबी छ । आफ्नो चलचित्र रिलिजको एक हप्ता पछि नै अरू अपेक्षित चलचित्र पनि आउने भन्दै उनले ‘प्रेम गीत–३’लाई रेकर्ड राख्ने अवसरबाट बञ्चित गर्ने नियतले नै ११ बजेसम्म शो उतारिसक्नु पर्ने निर्देशन बोर्डले दिएको उनको भनाइ छ ।

नेपाली चलचित्र भारतमा प्रदर्शन गर्न लागेको भन्दै अघिल्लो महिना ‘प्रेम गीत–३’ निर्मातालाई सम्मान गरेको बोर्डले अहिले आएर शो र सेन्सरमा कसेको उनले बताए । प्रदीप बोर्डको देखाउने र चपाउने दाँत फरक रहेको आफूले पाएको बताउँछन् ।सहयोग गरेजस्तो पनि देखाउने तर यथार्थमा भने बोर्डले नियतबस असहयोग गरिरहेको उनको भनाइ छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ असोज १० गते रिलिज हुँदै छ । प्रदीप खड्का चलचित्रको मुख्य भूमिकामा छन् । यो चलचित्र हिन्दी भाषामा पनि रिलिज हुँदै छ । भारतका ७ सय थिएटरमा पनि चलचित्र रिलिज हुँदै छ ।


Last Updated on: September 18th, 2022 at 9:06 am

तपाईको प्रतिक्रिया