शनिबार २४ मंसिर २०७९

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको चर्चा यत्ति बेला देश दुनियाँमा छरिएको छ । श्रमदान मार्फत धरान वस्तिमा खानेपानी ल्याउन सफल भएसँगै उनको चर्चा अझै चुलिएको छ ।स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्दा नै धरानमा पानी ल्याउने भनेका थिए ।

सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटे । पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। यस्तै, मेयर साम्पाङले सहयोगी हातहरूसँग विभिन्न सामाग्री सहयोग गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत साम्पाङले खादा र माला ल्याउनु भन्दा आफूलाई आवश्यक सामाग्री उपहार दिन अपिल गरेका हुन् ।‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैँती र बेल्चा उपहार ल्याइदिनु !’, साम्पाङले फेसबुकमा लेखेका छन्, ‘यो खादा माला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिनं ! जय श्रम ! जय उत्पादन !’

साम्पाङले बिदाको दिन पारेर उपमहानगरपालिकाभित्र श्रमदान गरिरहेका छन् । श्रमदानबाट नगरपालिकाको एक रुपैयाँ खर्च नगरी साम्पाङले धरानमा पानी पुर्याउन सफल भएका छन् ।उनले आफूलाई सम्मान गर्ने भन्दै धेरैले खादा र माला ल्याएर आएकोमा असन्तुष्टि जनाउँदै यस्तो अपिल गरेका हुन् ।

देश विदेशबाट उनलाई सहयोग गर्नेको घुइँचो लागेको छ ।साम्पाङले श्रमदानबाटै धरानलाई हरियाली बनाउने बृक्षरोपण गरेका छन् । त्यसमा पनि बिरुवादेखि सम्पूर्ण कुरा सहयोगी मनहरूको सहयोगले सम्भव भएको हो ।


Last Updated on: September 19th, 2022 at 7:38 pm

तपाईको प्रतिक्रिया