Wednesday, August 10

अस्ट्रेलियाबाट फर्किए प्रधानसेनापति शर्मा

August 6, 2022

काठमाडौं –

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भ्रमण पूरा गरि स्वदेश फर्किएका छन्।

अस्ट्रेलियाको सिड्नीमा भएको रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी भएर शर्मा शनिबार स्वदेश फर्किएका हुन्।

उक्त सम्मेलनमा सहभागी हुन शर्मा गत शनिबार (साउन ७ गते) अस्ट्रेलिया प्रस्थान गरेका थिए।

प्रधान सेनापति शर्मा अस्ट्रेलियाको रक्षा बलको संयोजकत्वमा अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डले आयोजना गरेको रक्षा प्रमुखहरुको सम्मेलनमा सहभागी भएका थिए।

उक्त सम्मेलनमा सहभागिताका लागि मन्त्रिपरिषद्‌को असार ३१ गतेको बैठकले प्रधान सेनापतिको भ्रमण स्वीकृत गरेको थियो।

प्रधान सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ।

‘यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त सम्मेलन साउन ९ गतेदेखि ११ गतेसम्म चलेको थियो। सम्मेलन सकिएपछि पनि प्रधान सेनापति शर्मा भने घर बिदा स्वीकृत गराएर साउन २० गतेसम्म त्यहाँ रहेका थिए।

शर्माको भ्रमणलाई लिएर नेपालमा भने सांसदहरुले विरोध जनाएका थिए। साउन १० गतेको प्रतिनिध सभाको बैठकको शुन्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद्‌हरुले अमेरिकाको इन्डोप्यासिफिक स्ट्राटेजी (आईपीएस)सँग जोडिएको कार्यक्रममा प्रधान सेनापति शर्मा सहभागी हुनु उचित नभएको बताएका थिए।

Comment