
अभिनेत्री करिश्मा मानन्धरले प्रेम गीत-३ लाई विभिन्न भाषामा डब गरी संसारभर देखाउनुपर्ने बताएकी छन् । चलचित्र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शित हुने खालको भए चलचित्र विकास बाेर्डसमेतकाे लगानीमा यसलाई अङ्ग्रेजी, इटालियन, कोरियन, चिनियाँ भाषामा पनि डब गर्न सकिने उनको भनाइ छ ।
हिन्दी भाषामा पनि डब भएका कारण चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई विदेशी फिल्मका रूपमा कर लगाउने हल्लाका माझ करिश्माको बयान आएको हो । चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई निर्धारित समयमै हलमा लाउन नसघाएकोप्रति करिश्माको गुनासो छ ।
‘अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको हालत के हुन्छ, यो उहाँ विज्ञहरूलाई जति अरु कसलाई थाहा होला ?’, करिश्माको प्रश्न छ । बोर्डका अध्यक्ष भुवन केसीले नायक प्रदीप खड्कालगायत अभिनित चलचित्रलाई अप्ठेरो पार्ने काम गरिरहेको आरोप छ ।
सन्तोष सेन निर्देशित यो फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब गरिएको छ । भारतमा चलचित्रको राम्रो प्रचारप्रचार भइरहेको छ । पढ्नुहोस् करिश्माको पूरै स्टाटस ।कहिलेकाहीँ नबोलूँभन्दा पनि बोल्नुपर्ने रहेछ !सही बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृतसरह मानेर सहेकी छु ।झन् विषय आफूलाई कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ । समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रोसँग थाहा छ ।
उता हास्य कलाकार दीपकराज गिरीले मिल्ने जति अधिकार मात्रै माग्न आग्रह गरेका छन् । ‘प्रेम गीत–३’को पोस्टर पोष्ट गर्दै उनले अधिकार माग्नेले पनि मिल्ने जति मात्रै माग्न सुझाव दिएका हुन् ।‘प्रेम गीत–३’का निर्देशक तथा निर्माता र मुख्य कलाकारले आफ्नो चलचित्रको हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र सरहको व्यवाहार गर्न आग्रह गर्दै कर छुट दिन विकास बोर्डलाई आग्रह गरेपछि दीपकले यस्तो सुझाव दिएका हुन् ।
“ प्रेम गीत–३ चलचित्रले नेपाली बजारलाई बिस्तारित गरेको छ । यसका लागि सम्पूर्ण टिम बधाईको पात्र छ । एउटै कुरा हो अधिकार माग्नेले पनि मिल्ने सम्म मागौँ,” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “दिनेले पनि मिलेसम्म सहयोग गरौँ ।”
हिन्दी चलचित्र नेपालमा रिलिज हुँदा प्रदर्शनबाट उठेको १५ प्रतिशत रकम विकास शुल्क स्वरुप तिर्नु पर्छ । उक्त कर आफूले छुट पाउनु पर्ने ‘प्रेम गीत–३’ले माग गरेको छ ।