मंगलबार १८ आश्विन २०७९

बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यनरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ ।

विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उहाँको भूमिका फेरिन्छ ।मोरङको बेलबारी-९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उहाँका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउनुहुन्थ्यो ।

केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउनुहुन्छ । “डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ ।

सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ ।सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उहाँको दैनिकी बनेको छ ।

यो दैनिकी बिहान-बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उहाँ लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउनुहुन्छ ।

“कति सानो बाबुले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ”, उहाँ बताउनुहुन्छ ।स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो । रासस


Last Updated on: September 20th, 2022 at 9:34 pm

तपाईको प्रतिक्रिया