
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्नै नमिल्ने बताएका छन्। बुधबार राजधानीमा आयवजित कार्यक्रममा उनले राष्ट्रपतिसँग त्यस्तो अधिकारै नभएको बताए।
‘राष्ट्रपतिसँग असीमित अधिकार छैनन्। संवैधानिक राष्ट्रपतिले संसदले पठाएको विधेयक प्रमाणीकरण गर्नेबाहेक अरु अधिकार हुँदैन। यो नेपालमामात्रै होइन, संसारकै चलन हो,’ उनले भने। उनले जतिसुकै विवाद भए पनि संसदबाट बहुमतका साथ पास भएको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गल्ती गरेको बताए।
‘नागरिकता विधेयकमा विवाद होला। मेरै पनि फरक मत छ। कतिपय कुरा मलाई पनि चित्त बुझेको छैन। तर संसदले पारित गरेको कुरामा राष्ट्रपतिले व्यक्तिगतरुपमा भिन्न मत राख्न सक्नुहुन्छ। राष्ट्रपतिको हैसियतले होइन,’ उनले भने। उनले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको आरोप लगाए।
‘राष्ट्रपतिले कि ठाउँ छोड्नुपर्छ कि प्रमाणीकरण गर्नुपर्छ। संवैधानिक राष्ट्रपतिको अरु अधिकार हुँदैन,’ उनले भने। उनले पहिले केपी ओलीले संविधानको उल्लंघन गरेको र अहिले आएर राष्ट्रपति पनिले पनि संविधानको उल्लंघन गरेको बताए। ‘यो त संविधानमाथिको चुनौती हो।
संसदीय प्रणालीमाथिकै चुनौती हो। जनताको जनादेशमाथिको चुनौती हो,’ उनले भने। उनले यो कदमले आजकै दिनदेखि समस्या सुरु गर्ने बताए।