Monday, August 15

आइतबारदेखि गाडी चलाउन बन्द, गाडी थन्काएर कर विरुद्ध कडा आन्दोलनको घोषण (अपिल सहित )

August 6, 2022

पोखरा ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी कर विरुद्ध कडा आन्दोलन शुरु गरेको छ।

आन्दोलन स्वरुप महासंघले आगामी आइतबारदेखि गण्डकी प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ। यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले सार्वजनिक सवारी नचलाउने जनाएको हो।

महासंघले आफ्नो आन्दोलनमा निजी सवारी धनीसहित आम नागरिकको पनि समर्थन मागेको छ। महासंघले विज्ञप्तिमार्फत सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप पनि लगाएको छ।

कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले उल्लेख गरे।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरू पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा उभिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’ यस्तो छ अपिल :

आदरणिय बुवा, आमा, दाजु भाई तथा दिदी बहिनीहरु ।

कोरोना संकमणवाट मुक्त हुँदै आफ्नो पेशा व्यवसाय विस्तारै अगाडी बढीरहेको अवस्थामा एक्कासी गण्डकी प्रदेश सरकारबाट निजी तथा सार्वजनिक सवारी साधनमा गरिएको अन्यायपूर्ण सवारी कर बद्धी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यसरी गण्डकी प्रदेश सरकारले पेशा व्यवसायलाई राहत दिनुपर्ने अवस्थामा उल्टै कर जरिवाना लगायत आकाशिदो मुल्यवृद्धिबाट आम नागरिक पिडित भईरहेका छन ।

गण्डकी प्रदेश सरकार आमनागरिकको अभिभावकत्व ग्रहण गर्नु पर्ने ठाउँमा गैरजिम्मेवार भै आम नागरिकको हित विपरीत कर मात्र असुल गर्ने नीति र नियतिले सरकारको आम नागरिक प्रतिको दाहित्वमा प्रश्नचिन्ह खडा भएको छ । आम नागरिकले कर तिरिसकेपछि कर तिरेको अनुभुती गर्न सकिरहेका छैनन् ।

केही दिन अगाडी गण्डकी प्रदेश सरकारबाट गरिएको निर्णय प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । साथै उक्त निर्णय प्रति असहमत रहेको कुरा पनि जानकारी गराउन चाहन्छौं ।हामी आम नागरिकको अधिकार प्रति सधै सचेत र सजक छौं ।

केही दिन अगाडी प्रदेश सरकार समक्ष हामीले ज्ञापन पत्र मार्फत हाम्रा मागहरु अवगत गराईसकेको र उक्त माग प्रति प्रदेश सरकार सम्वेदनशिल नभैदिदा वाध्य भएर हाम्रा सार्वजनिक सवारी साधनहरु २०७९/०४/२२ गतेदेखि घर ग्यारेजमा खडा गरी आन्दोलन गर्न बाध्य भएको कुरा आम नागरिक समक्ष अवगत गराउन चाहन्छौं ।

सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न वाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा नीजि तथा पर्यटन सवारी साधनहरु पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।

यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमा प्रार्थी छौं । यो आन्दोलन नीजि, सार्वजनिक, पर्यटन सवारी साधन संचालन गर्ने आम नागरिकको पनि आन्दोलन भएको कुरा यहाँहरु माझमा अवगत गराउँदै यो आन्दोलनमा आम गण्डकी प्रदेश वासी जन समदायमा हार्दिक अपिल गर्दछौं ।

यो आन्दोलन हामी सार्वजिनक यातायात व्यवसायीको मात्र नभई संघियताको मर्म विपरीत गण्डकी प्रदेश सरकारले मनोमानी रुपमा बढाएको करका विरुद्ध भएको हुँदा विभिन्न पेशा, व्यवसायीमा आवद्ध संघ, संस्था, उद्योगी, व्यापारी, बुद्धिजिवि, विद्यार्थी, मजदुर लगायत आम नागरिक सबै पक्षबाट नैतिक सहयोग अपेक्षा गर्दै हाम्रो आन्दोलनमा ऐक्यवद्धता जनाईदिनुहुन समेत अनुरोध गर्दछौं ।

यस आन्दोलनको भावना विपरीत गण्डकी प्रदेश सरकारबाट माग सम्बोधन नभएको खण्डमा अनिश्चित कालिन प्रदेश बन्द गर्न वाध्य हुने करा समेत यो अपिल मार्फत जानकारी गराउन चाहन्छौं ।

साथै उक्त आन्दोलनबाट आम सर्व साधराणमा पर्ने असुविधा प्रति प्रदेश सरकार जिम्मेवामा पहनकर जानकारी गाराउँदछौं अत्यमा पत्रकार मित्रहरुबाट सत्य तथ्य उजागर गरि समाचार संपेशण गरिदिन अनुरोध गर्दै हाम्रो आन्दोलन थप उचाईमा पुयाउन हार्दिक आग्रह र अपिल गर्दछौं ।

Comment