बुधबार १९ आश्विन २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् । उच्च अदालतले बुधबार टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना असोज २६ गतेसम्म रोक लगाएको थियो ।

त्यसप्रति कटाक्ष गर्दै उनले अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ महानगरपालिकाले टुकुचा उत्खनन थालेपछि यसबारे व्यापक बहस भइरहेको छ भने अदालतसम्म मुद्दा पुगेको हो।

यो पनि – राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ।

यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ। उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ। सूचना उल्लंघन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।


Last Updated on: September 21st, 2022 at 9:12 pm

तपाईको प्रतिक्रिया