मंगलबार १८ आश्विन २०७९

प्रविधिले मान्छेका सम्बन्ध जोडिरहेको छ, तोडिरहेको छ । प्रविधि हुँदा ठीक छैन, नहुँदा पनि ठीक छैन । प्रविधि मान्छेको साथमा हुँदा मदिराजस्तो नमज्जाले लठ्याइने रहेछ । नहुँदा सूचनाको अभावमात्र हुने होइन सारा साथीभाइ, इष्टमित्रसँग टाढिनुपर्ने बाध्यता छ ।

तर, पछिल्लो समय प्रविधिले सबैभन्दा बढी कि त किशोर/किशोरी कि श्रीमान्श्री/मतीको सम्बन्ध नराम्ररी बिगारेको छ । अहिलेको जल्दाबल्दो प्रविधि अर्थात् फेसबुक । मार्क जुगरबर्गले संसारका मानिसलाई यस्तो बनाइदिए सँगै सुतेका, बसेका दम्पत्तीको मन कोतिर सर्ने पत्तै नहुने ! यही प्रविधिले गर्दा अहिले एक दम्पतीको जीवन न यता न उता भएको छ ।

बौद्धको महांकाल, पानी ट्यांकीनजिक डेरा लिएर बसेको छ तामाङ दम्पती । बाहिरबाट हेर्दा परेवा जोडीजस्तो । श्रीमान् एक खाद्यान्न गोदाममा काम गर्छन्, श्रीमती काठमाडौं मलभित्रको फेन्सी पसलमा । बिहान श्रीमान् अघि, श्रीमती पछि डेराबाट निस्कन्छन् । कहिलेकाहीँ सँगै पनि हुन्छन् ।

दुवैलाई उतिसाह्रो जीवनमा मोह छैन, सामान्य जिन्दगी नै काफी ठान्छन् । तैपनि दुःखजिलो दैनिक गुजारा गर्नु त छँदै छ । त्यहाँ डेरा लिएर बसेको ५ वर्ष भइसकेको छ । विवाह भएको १० वर्ष हुन लाग्दा पनि सन्तान छैन । श्रीमतीलाई सन्तान जन्माउन मन हुँदाहुँदै पनि श्रीमान् त्यो चाहँदैनन् ।

श्रीमान् सन्तान जन्माउनु घाँडो ठान्छन् भने श्रीमती बच्चाकी आमा हुनुलाई आफ्नो अस्तित्व ठान्छिन् ।काभ्रेली उनीहरु एउटै भेगका हुन् । सानै उमेरमा प्रेमका हाँगाबिँगा फैलिए तर परिवारले सानो उमेर भएकाले विवाह गरिदिन मानेन । परिवार बाधा भएपछि १६ वर्षको कलिलो उमेरमा काठमाडौंतिर भास्सिए । गाउँमा घरजम गरेर बस्ने अवस्था थिएन ।

शुरुमा साँखु आएर बसे, साहुको जग्गा भाडामा लिएर खेतीपाती चलाए । होटल पनि चलाए । बसपार्कनजिकै होटल भएकाले राम्रै आम्दानी थियो । तर, आम्दानी हुँदाहुँदै पनि त्यहाँ बस्न सक्ने अवस्था रहेन । ड्राइभर र खलासीले भर्खरकी कल्कलाउँदी श्रीमतीमाथि आँखा लाउन थालेपछि सुरेन्द्र (नाम परिवर्तन) होटल बेचेर जोरपाटी सरे ।

जोरपाटीमा पनि होटल खोले तर त्यसले उल्टै घाटा खुवायो । त्यसपछि सुरेन्द्र खाद्यान्न गोदाममा काम गर्न थाले । श्रीमतीलाई पनि केही समय आफूसँगै काम गर्न लगाए तर त्यहाँ पनि केटाहरूले जिस्काउन र कर्के नजर लगाउन थालेपछि श्रीमतीलाई घरमै बसाए । र, आफूमात्र काम गर्न थाले ।

एकजनाको कमाइले मात्र जीवन धान्न अप्ठ्यारो भएपछि सुरेन्द्रले मीनालाई आफ्नै दिदीले बागबजारमा खोलेको फेन्सी पसलमा काम गर्ना पठाए । तर, मीना त्यहाँ केही महिना मात्र टिकिन् र अरुतिरै काम गर्न थालिन् । अहिलेचाहिँ काठमाडौं मलमा काम गर्छिन् ।

अगाध मायाले कलिलो उमेरमा बिहे गरेर काठमाडौं पसेका उनीहरूसँग अहिले र पहिलेको मायामा गहिरो खाडल छ । पहिले एकछिन श्रीमती छाड्न र बाहिर हिँडाउनै नचाहने सुरेन्द्र अहिले श्रीमतीले जे गरे पनि कुनै वास्ता गर्दैनन् । श्रीमती जोसुकैसँग हिँडोस्, बोलोस्, खाओस् कुनै पर्वाह छैन ।

बरु श्रीमती अहिले बोझजस्तो भएको छ । न मिल्काउन मिल्ने, न साट्न मिल्ने । जब सुरेन्द्र गोदाममा काम गर्दै गए उति उति बानी फेर्दै गए । बेलुकी घर आउँदा श्रीमतीले मायाले पकाएको भात र तरकारी खल्लो लाग्न थाल्यो । श्रीमान्को बानी शुरुशुरुमा त मीनाले कामको चाप भन्ठानिन् । तर महिनौँ दिन बित्दा झन् झन् बानी बिगार्न थालेपछि वास्तविकता खोज्न थालिन् ।

सुमधुर सम्बन्ध बिग्रन कति नै समय लाग्नेरहेछ र ! ०७२ को भुइँचालोजस्तै सम्बन्धमा नमीठो कम्पन गयो । श्रीमान्सँग कैयौँपटक घर आउन ढिलाइ, खाना नखानु र आफ्नो ख्याल फिटिक्कै नगरेको बारे रोएर प्रश्न गरिन् । तर, सुरेन्द्र उल्टै ‘गोहीको आँशु नझार’ भन्दै थर्काउने । तैपनि मीना सम्झाउन खोज्थिन् ।

सँगै मर्ने, सँगै बाँच्ने कसम खाएर गाउँ, परिवार त्यागेको त्यो प्रण कसरी आज एकाएक यस्तो भयो ? कारण रहेछ– फेसबुक, टिकटक । सोझा सुरेन्द्रले पनि नयाँ टच स्क्रिन मोबाइल किने । फेसबुक र टिकटक खोले । दुइटै सञ्जाल जति चलायो उति मज्जा हुने ।

फेसबुकमा थरीथरीका साथी, त्यसमा पनि अधिकांश महिला । उनीहरूसँगको गुलाबी बातचित । सुरेन्द्र बेलुकी अफिसबाट महिलासँग फेसबुकमा गफिँदै घर आइपुग्थे । घरको गेट आएपछि मोबाइल गोजीमा राख्थे ।यता, मीना पनि कोठामा एक्लै । श्रीमान् कोठाबाट निस्किएपछि उनको सारथि कि फेसबुक कि टिकटक । फेसबुकमा अनेक साथी त हुने नै भए ।

फेसबुकमा बोलाइ पनि रंगीबिरंगी । दुवैको तन एउटै, मनचाहिँ हावाजस्तो उडिरहेको हुन्थ्यो । दुवैले आफ्ना गतिविधि लुकाइनै रहेका थिए । श्रीमान्–श्रीमती भएपछि सुख, दुःख, सामान्य झगडा त हुन्छ नै । तर, अब फेसबुककै कारण दुईबीच दैनिक झगडा हुन थाल्यो ।

श्रीमान् कामबाट फर्किनेबित्तिकै मीना मोबाइल हत्तपत्त खोज्थिन् । श्रीमान्ले कोसँग कुन हिसाबले बोल्यो भनेर फेसबुक खोल्थिन् । अरुअरु चेक गर्थिन् । सुरेन्द्र पनि किन कम ? उनी पनि मीनाको फेसबुक, टिकटक सबै खोजतलास गर्थे । यो क्रम दैनिक चल्थ्यो, झगडा हुन्थ्यो, मोबाइल फालिन्थ्यो, टिपिन्थ्यो, फेरि बनाइन्थ्यो र फेरि उही क्रम दोहोरिन्थ्यो ।

तैपनि लागेको बानी कहाँ छुट्थ्यो ! न छुट्टिन सक्ने, न मिलेर बस्न सक्ने । अचम्मको जोडी बनाइदियो फेसबुकले ।केही समयअघिको कुरा हो । बेलुकीको १० बज्नै लागेको थियो । म खाना खाइवरी पढ्न बसेकी थिएँ । एक्कासि मेरो कोठाको ढोकासामुन्ने रहेको कोठाबाट कर्कश आवाज सुनियो ।

त्यस्तो आवाज यसअघि पनि नसुनिएको होइन । झगडा हुन्थ्यो तर कसैलाई असर नपर्ने तरिकाले । त्यस दिन विगतभन्दा बिल्कुलै फरक र अचम्मको झगडा भयो । ‘यो कुन नकच्चरी हो ? कि बिहे गरौँ, बच्चा जन्माऔँ भनेको ? म तेरो को हो हँ ?’ मीना रोएको आवाज आयो । त्यसपछि ‘यो कुनचाहिँ खाते हो ? आई लभ यु भन्ने ? भन्,’ सुरेन्द्र कस्सिएको आवाज सुनियो ।

‘ऊ मेरो साथी हो, जिस्केर बोलेको हो’ भन्ने सुरेन्द्रको जवाफ थियो बीचमा । मीनाले ‘मेरो पनि मिल्ने साथी हो, त्यही भएर जिस्केर बोलेको हो’ भन्ने जवाफ दिइन् । त्यसपछि शुरु भयो महाभिडन्त । दुवैले एक अर्काको मोबाइल भित्तामा पाहा पछारेजस्तो पछारे । दुईटा मोबाइल चार टुक्रा भयो ।

केही दिनपछि फेरि दुवैले नयाँ फोन किने । त्यसपछि पनि झगडा त भइनै रहेको छ । काठमाडौंको र पल्लो कोठामा झगडा भएर छुट्याउन गए आफैँ गोदाइ खाने डर ! गएर सम्झाऔँ के भनेर सम्झाउने ? नसम्झाउँ डिस्टर्ब मात्रै । प्रविधिले यतिबिघ्न मानिसलाई बनायो कि बरु पशु मिलेर बस्ने सक्ने भए तर प्रविधिमा जोडिएकाहरू न मिल्न सक्छन् न छुट्टिन नै ! यो कस्तो संसार हो प्रभू !


Last Updated on: September 21st, 2022 at 10:18 pm

तपाईको प्रतिक्रिया