Monday, August 15

जमिन धाँजा फाट्यो ११ परिवार जोखिममा, तत्काल बस्ती नसारे ठुलो जनधनको क्षति हुनसक्ने !

August 6, 2022

रामेछाप —

अविरल वर्षाले घरभन्दा माथिको जमिन धाँजा फाँटेर झर्न थालेपछि जोखिममा परेका रामेछापको मन्थली नगरपालिका १२ गेलुका ११ परिवार जोखिममा परेका छन् ।

घर माथिको जमिन सर्न थालेपछि ६ परिवारलाई अन्यत्र सारिएको छ । उनीहरुको वस्तुभाउ र खेती भने पहिरो बग्ने क्षेत्रमै रहेकाले आउजाउ भइरहेको छ ।

अन्य ५ परिवारलाई समेत तत्काल अन्यत्र सार्नुपर्ने अवस्था छ ।

जमिन फुटेर बस्तीतर्फ सर्न थालेको स्थानमा शुक्रबार प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार पहाडीलगायतको टोलीले अवलोकन गरेको छ ।

जमिनमा १ फिटसम्म चौडा धाँजा देखिएकोले नजिकै बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गर्न पहाडीले निर्देशन दिएका छन् । उनले सरकारले उक्त क्षेत्रको भौगर्भिक सर्वक्षण गराई बस्ती स्थानान्तरणतर्फ आवश्यक पहल गर्ने बताए ।

मन्थली १२ का वडाध्यक्ष खिलेन्द्रबहादुर खत्रीले जोखिम क्षेत्रमा वसोबास गर्ने योगेन्द्र अधिकारी, कृष्णमाया अधिकारी, तोरण अधिकारी, केशव अधिकारी, भोजबहादुर अधिकारी र मोहन अधिकारीलाई तत्काल सुरक्षित जग्गा खोजेर बसोबास गराइएको र अन्यलाई पनि स्थानान्तरण गर्ने बताए ।

उनले नजिकै उनीहरुकै सुरक्षित जग्गा रहेकाले तत्कालका लागि बसोबास गर्न सामाग्रीको अभाव रहेको औंल्याए ।यसैबीच गेलु ११ मा गेलु अस्पताल निर्माण गर्दाको बाहिरी पर्खाल भत्कँदा त्यसभन्दा तल रहेका २ परिवार उच्च जोखिममा छन् ।

अस्पतालभन्दा अगाडिको पर्खाल झरेर बस्तीतिर सरिरहेकोले थप जोखिमबाट जोगाउन तत्काल उक्त संरचना पुनर्निर्माण गर्नुपर्नेमा खत्रीले जोड दिएका छन् ।

Comment