Wednesday, August 10

तालमेल गर्दा कांग्रेसलाई १०० सिट

August 6, 2022

काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले चुनावी तालमेल गर्दा कांग्रेसले एक सय सिट पाउनुपर्ने बताएका छन्।

शनिबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धनका दलबीच तालमेल आवश्यक भएको बताए।

“सरकार पनि गठबन्धनको छ, गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,” उनले भने, “तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सिट पाउनुपर्छ।”

अहिलेको परिस्थितिमा कोही न कोही दलसँग सहकार्य गरेर मात्रै निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने उनको भनाइ थियो।

एमालेसँग प्रतिस्पर्धा गर्नका लागि पनि गठबन्धनमा रहेका दल एकजुट हुनुपर्नेमा उनले जोड दिए।

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई बलियो बनाउने विषयमा सोच्नुपर्ने बताए।

“टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ,” पौडेलले भने।

Comment