बुधबार १९ आश्विन २०७९

काठमाडौं। एक नेपालीले संयुक्त अरब इमिरेट्समा करिब ३५ करोड रुपैयाँ बराबरको लट्री जितेकै दिन युएइमै अर्का एक नेपालीले आधा किलो सुन जितेका छन् । उनले जितेको आधा किलो सुनको मूल्य बिहीबार नेपाली बजारमा कारोबार भइरहेको सुनको मूल्य अनुसार करिब ४० लाख रुपैयाँ पर्छ ।

द सियासत डेलीका अनुसार विदेशमा पैसा पठाउने रेमिटेन्स कम्पनी अल अन्सारी एक्सचेन्जमार्फत पैसा पठाएपछि लक्की ड्रका लागि योग्य भएका व्यक्तिहरुले यो पुरस्कार पाएका हुन् । नेपालका केशर हुम बहादुर कार्की र पाकिस्तानी जुनैद अहमद सज्जाद जहीर जोयाले आधा किलो सुन जितेका हुन् ।

अल अन्सारीको लक्की ड्रमा सबैभन्दा धेरै १ मिलियन दिराम भारतका सज्जाद अली बटले जितेका छन् । यमनका नागरिक सबिर अलीले नयाँ मार्सिडिज बेन्ज कार जितेका छन् । पुरस्कार जित्ने नेपाली नागरिक कार्की नेपालको कुन ठाउँका हुन् भन्ने स्पष्ट छैन ।

यो पनि – नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन् ।

गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन् । उनले त्यहाँ मासिक १३०० दिराम ९४५ हजार रुपैयाँ०को कार धुने जागिर खान्थे । बुधबार उनलाई एक करोड दिरामको नमुना चेक हस्तान्तरण गरिएको गल्फन्यूजले जनाएको छ ।मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई बर्षदेखि चिठ्ठा काटिरहेका थिए ।

अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन । ‘म त निकै खुसी छु’ उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच बर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ,’ युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु ।’मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए ।

लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन थिए । किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो ।


Last Updated on: September 22nd, 2022 at 6:31 pm

तपाईको प्रतिक्रिया