
चर्चित हास्य कलाकार बुद्धि तामाङ शुक्रवार दुलाहा हुने भएका छन्। फिल्महरूमा बारम्बार दुलाहा भनेर अभिनय गरेका उनी वास्तविक जीवनमै शुक्रवार दुलाहा हुन लागेका हुन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग कौसलटारको एक पार्टी प्यालेसमा विवाह गर्दैछन्।
जानकारहरूको दाबी अनुसार यी दुवैको मागी विवाह हो। बुद्धिले तामाङ परम्परा अनुसार विवाह गर्न लागेका हुन्। उनी तामाङ परम्परा अनुसार केही दिन अगाडि अनुको घर गएर सगुन पोङ दिइसकेका छन्। अनुको परिवारले बुद्धिको पोङ स्वीकार गर्दै विवाहको अनुमति दिइसकेका छन्।
भोलि भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा दुई परिवारका सदस्यहरुको उपस्थितमा उनीहरुको बिबाह हुँदैछ । उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिब केही समय यता प्रेम सम्बन्ध रहेका थिए। विवाहको कुरामा सयम आएपछि हुन्छ नि भनेर पन्छिने गरेका अभिनेता तामाङको थिबसँग तामाङ विधि (संस्कार तथा परम्परा) अनुसार नै विवाह हुने छ।
३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनु पर्दछ। त्यस पश्चात् पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्ने हुन्छ।
अभिनेता तामाङले प्रेमिका थिबको घरमा पुगेर केही दिनअघि तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए। पोङको सगुन केटा केटीले ग्रहण गरेपछि दुलाह र दुलाही दुवै पक्षको अनुकुलतामा विवाहको साइत हेरेर केटीलाई केटाको घरमा लाने प्रचलन छ।
सोही विधि अनुसार शुक्रबार अर्थात ७ गते विहे हुँदैछ। विशेषगरी हाँस्यकलाकारको रुपमा चिनिने तामाङले रंगमञ्च मार्फत अभिनय यात्रा सुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर–६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्।
काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङ चलचित्रको अलावा सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्। हास्य टेलिसिरियल हुँदै अभिनय क्षेत्रमा प्रवेश गरेका उनी फिल्म, म्युजिक भिडियो र नाटकहरूमा समेत अभिनय गर्ने गरेका छन्। उनी हैट थेगोका कारण चर्चित छन्।