Monday, August 15

बच्चालाई कम दूध चुसाउने महिलाहरूलाई स्तन क्यान्सरको उच्च जोखिम हुन्छ : डा. अरुण शाही

August 6, 2022

स्तनपानकाे साटो बच्चालाई गाईको दूध वा अन्य प्रोटिन खुवाउने चलन बढ्दो छ । विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार यसो गर्नु आमा र बच्चा दुवैका लागि हानिकारक हुन्छ ।

किनकि, स्तनपान बच्चालाई मात्र होइन, आमाको स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यसको अर्थ, फिगर बिग्रने वा अर्को कामको लागि समय नपुग्ने चिन्ताले स्तनपान नगराउँदा बच्चाको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कालान्तरमा आमासमेत स्तन क्यान्सरसहित विभिन्न रोगको शिकार हुन सक्छिन् ।

क्यान्सर रोग विशेषज्ञ चिकित्सक (युरोपियन सर्टिफाइड मेडिकल अंकोलोजिस्ट) अरुण शाहीका अनुसार नाबालक शिशुलाई आफ्नो दूध नखुवाउनु मात्र स्तन क्यान्सरको कारण भने होइन ।

स्तन क्यान्सरका धेरै कारणमध्ये महत्त्वपूर्ण कारण आफ्नो बच्चालाई स्तनपान नगराउनु पनि एक हो । युनिसेफ नेपालले पनि स्तन क्यान्सरको जोखिम बढाउने कारणमध्ये स्तनपान नगराउनुलाई एक मानेको छ ।

स्तनपान गराउने महिलाहरूमा स्तन क्यान्सर, अण्डाशयको क्यान्सर, मुटुसम्बन्धी तमाम समस्या र डिप्रेसनजस्ता खतरा कम हुने नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्थाको दाबी छ ।

अमेरिका र युरोपमा भएका अध्ययनले पनि नवजात शिशुलाई दूध खुवाउने गर्दा आमालाई स्तन क्यान्सरको खतरा २८ प्रतिशत कम हुने देखाएका छन् ।

यति मात्र होइन, स्तपानले हृदयरोग हुने खतरा १० प्रतिशत अनि आर्थराइटिस जोखिम ५० प्रतिशतसम्म घटाउँछ । स्तनपान गराउने महिलालाई क्यान्सरको उपचार गराइसकेको अवस्थामा रोग बल्झिने खतरा पनि कम हुन्छ ।

विशेषज्ञका अनुसार बच्चा ६ महिनाको हुन्जेलसम्म नियमित रूपमा स्तनपान गराउने महिलामा क्यान्सर फर्किने सम्भावना अत्यन्तै न्यून हुन्छ । स्तन क्यान्सर दोहोरिने जोखिम स्तनपानकै कारण ३० प्रतिशतले घट्छ ।

नेसनल क्यान्सर इन्स्टिच्युट जर्नलमा छापिएको शोधमा जति लामो समयसम्म महिलाहरूले स्तनपान गराउँछन्, स्तन क्यान्सरबाट उति धेरै बचावट मिल्ने उल्लेख छ ।

बेलायतको क्यान्सर रिसर्चअनुसार आमाले बच्चालाई दूध खुवाउँदा स्तन क्यान्सरको जोखिम किन घट्छ, ठ्याक्कै पत्ता लागेको छैन ।

तर, स्तनपानका क्रममा अण्डाशयले त्यति अण्डाको उत्पादन नगर्नु जोखिम घट्नुको एउटा कारण हुन सक्छ । अथवा नवजात शिशुलाई दूध खुवाउँदा स्तनमा कोशिकाहरू बदलिने हुँदा क्यान्सरको कारण बन्न सक्ने परिवर्तनप्रति यो प्रतिरोधी हुनसक्ने क्यान्सर रिसर्च यूकेको रिपोर्ट छ ।

अमेरिकी शोधकर्ताहरू स्तनपानले स्तन क्यान्सरको जोखिम घटाउनुको मुख्य कारण हर्मोनलाई मान्छन् । बच्चालाई दूध खुवाउने महिलामा एस्ट्रोजेन हर्मोनको मात्रा कम हुन्छ । यसलाई क्यान्सर गराउन सक्ने हर्मोनका रूपमा लिइन्छ ।

स्तनपान नगराउनेबाहेक महिलामा स्तन क्यान्सर हुने कारण के-के हुन् त ?

आमा, सानीमा, दिदीबहिनी, आमातिरकी हजुरआमाबाट पनि स्तन क्यान्सर वंशाणुगतरूपमा हुनसक्ने डा. शाही बताउँछन् । विवाह भएको तथा बच्चा नपाएका महिलाहरूमा पनि यसको जोखिम उच्च हुन्छ ।

स्तनरोग विशेषज्ञ डा. सुजिता हिराचन विशेषगरी ३० वर्षभन्दा माथिको उमेरमा पहिलो बच्चा जन्माउने महिलाहरूमा स्तन क्यान्सर हुन सक्ने बताउँछिन् । उनका अनुसार बच्चा जन्माएका महिलाहरू पनि स्तन क्यान्सरको खतरामा हुन्छन् ।

‘१० वर्षभन्दा बढीसम्म परिवार नियोजनको चक्की तथा विभिन्न हर्मोनको प्रयोग, अनावश्यक विकिरण (एक्सरे) को प्रयोग धेरै गरेका महिलामा, रक्सी तथा चुरोट खाने र अत्यधिक बोसोयुक्त खानेकुरा खाने महिलालाई स्तन क्यान्सरको रिस्क बढी हुन्छ’, भक्तपुर क्यान्सर अस्पतालका डा. साह भन्छन् ।

यस्ता हुन्छन् लक्षण

स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।दुवै स्तन समान नभई आकार र बनोटमा फरक देखा पर्नु ।स्तन सुन्निएर कडा भई दुख्न थाल्नु ।स्तनको मुन्टाबाट रगत अथवा फोहर पदार्थ आउनु ।

स्तनको मुन्टा सिधा बाहिरतिर नफर्की दायाँ, बायाँ वा घुमेर भित्रतिर फर्कनु । स्तनको छालामा रङ अथवा नरमपनामा केही परिवर्तन देखापर्नु ।स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखिनु । ढिलो भएको खण्डमा स्तनमा सानातिना दानाहरू देखा परेपछि घाउ बन्नु ।

वरिष्ठ स्तन क्यान्सर सर्जन डा. कपेन्द्रशेखर अमात्यका अनुसार माथिका लक्षण देखा पर्दैमा स्तन क्यान्सर नै भएको भन्नचाहिँ मिल्दैन । स्तनमा देखिने ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैनन् । स्तनमा गिर्खा देखिए डाक्टरकहाँ परीक्षण गराएर मात्र क्यान्सर हो वा हैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

Comment