चिया बेचेर पढिरहेकी छन् ११ वर्षीया प्रीति, ‘कहिले १००० त कहिले ५०० हुन्छ कमाई – Gandaki Chhadke
Friday, August 12

चिया बेचेर पढिरहेकी छन् ११ वर्षीया प्रीति, ‘कहिले १००० त कहिले ५०० हुन्छ कमाई

August 6, 2022

काठमाडाैँ ।

प्रीति जेसवाल ११ वर्ष पुगिन् । उनी लगनखेलकाे सिलिमिन्याक आदर्श विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनी सानै छिन्, बच्चै छिन् ।

तर, जिम्मेवारीले भने उनलाई ठूली बनाइसक्याे । प्रीति आफ्नाे पढाइ खर्च आफैँ जुटाउँछिन् । उनी लगनखेल चाेकमा चिया बेचेर आफ्नाे पढाइ खर्चकाे तय गर्छिन् ।

उनले याे काम आफू ९ वर्षकाे हुँदादेखि शुरू गरेकी हुन् । चिया बेच्न शुरू गरेकै २ वर्ष बितिसक्याे ।प्रीतिकीअनुसार उनकाे परिवार भारतबाट नेपाल आएकाे हाे रे !

बाबा-आमासँगै दाइ र दिदीसमेत गरी ५ जनाकाे परिवार भएकाे सुनाउँदै उनले भनिन्, ‘मैले आमालाई भनेर चिया बेच्न शुरू गरेकी हुँ । आमालाई चिया बेच्छु भनेँ, आमाले पनि हुन्छ भनेपछि बेच्न शुरू गरेकी हुँ ।’

प्रीति चिया आफैँ पकाउँदिनन् । उनी विद्यालयबाट साढे ४ मा फर्किन्छिन् र आमाले बनाएकाे चियाँ थर्मसमा बाेकेर लगनखेलतिर साेझिन्छिन् ।प्रीतिकाे हरेक साँझ लगनखेलकाे व्यस्त चाेक र सडकमा बित्छ ।

त्यहाँ उनले कपकाे २५ रुपैयाँले चिया बेच्छिन् । साँझ ८ बजेसम्म चिया बेच्ने सुनाउने प्रीति खुसी साट्छिन्, ‘कहिले १ हजारसम्म कमाइ हुन्छ । कहिलेकाचाहिँ ४/५ सय त्यस्तै हुन्छ ।’

उनी कमाएकाे पूरै पैसा आफैँ राख्दिनन्, खर्च गर्दिनन् । उनलाई सञ्चिति गर्नुपर्छ भन्ने अहिले हाेइन, २ वर्ष पहिल्यै लागेकाे थियाे । उनी थप्छिन्, ‘कहिले बाबालाई दिन्छु, कहिलेचाहिँ आमालाई दिन्छु ।

पैसा आफू राख्दिनँ । चाहिएकाे बेलामा मलाई उहाँहरूले दिइहाल्नुहुन्छ । पैसा खर्च गरिहाल्नु हुँदैन ।’उनीसँगै चिया बेच्ने अन्य समकालीनहरू पनि छन् । तर, प्रीतिचाहिँ जिम्मेवारीबाेध देखिन्छिन् ।

साथीहरू जिस्किँदा र यताउता कुत्दा/दगुर्दा उनी ‘त्यसाे नगर्नू’ भनेर सुझाव दिन्छिन् । मानाैँ— उनी कुनै एक पाकाे र सचेत व्यक्ति हुन् ।

आफू साे स्थान (लगनखेल)मा सबैभन्दा पहिले आमासँग आएकाे र त्यसपछि आफूले ‘यही ठाउँमा चिया बेच्छु’भनेर भनेकाे स्मरण गर्छिन् प्रीति, भन्छिन्— ‘म पहिलोपटक यहाँ आमासँग आएकी थिएँ ।

अरुहरूले चिया बेचेको देखेर मैले पनि आमालाई म पनि चिया बेच्छु भनेँ । आमाले पनि हुन्छ भन्नुभयो । त्यसपछि मैले शुरू गरेकी हुँ ।’प्रीति कहिलेकाहीँ बिहानकाे समयमा पनि उही थर्मस बाेकेर उसैगरी लगनखेल पुग्छिन् ।

व्यापार हुँदा खुसी-खुसी फर्किन्छिन् त कहिलेकाहीँ चियासँगै निराशा बाेकेर काेठा पुग्छिन् । तर, जे हाेस् उनलाई गर्व छ । उनकाे ठाेकुवा छ, ‘म परिवारकाे कान्छी हुँ तर, मलाई काेहीसँग निर्भर रहनुपरेकाे छैन ।’

हुन पनि उनी साँच्चै कसैकाे भर परेकी छैनन् । उनी आफूले कमाएकाे पैसाले पढ्ने मात्रै हाेइन, आफूले खानेसमेत कमाउने गरेकाे सुनाउँछिन् । ‘म परिवारकै कान्छी हुँ । तर मलाई पढ्नका लागि कसैकाे भर पर्नुपरेकाे छैन,’ उनी भन्छिन् ।

ग्राहकले चिया पिएर ‘चिया मीठाे छ’ भन्दा मख्खै देखिन्छिन् प्रीति । हरियो थर्मस र कागजकाे गिलाससँग उनकाे निकटता कम गहिराेचाहिँ छैन ।

उनीसँग आफूजस्तै विद्यार्थीदेखि वयाेवृद्धसम्म ग्राहकका रूपमा जाेडिन्छन् । उनीहरू सबैबाट उनले शुभेच्छा पाउँछिन् । उनी सम्झिन्छिन्, ‘सबै उमेर समूहका मानिसहरू चिया पिउन आउनुहुन्छ । उहाँहरू सबैले चिया मीठाे छ भन्नुहुन्छ । खुसी लाग्छ ।’

लगनखेलकाे कृष्ण मन्दिर वरपर चिया बिकाउने प्रीति ‘चियाप्रेमी’हरूलाई साक्षी राखेर आफ्नाे सुनाैलाे भविष्य खाेज्दैछिन् ।

जे हाेस् प्रीति आर्थिक विपन्नताका कारण पढ्न नसकिरहेकाहरूका लागि एक अचुक उपाय हुन्, विकल्प हुन् र समाधान हुन् ।

अब आर्थिक पृष्ठमूभि कमजाेर हुँदा पढाइमा सकस भाेगिरहेका हरेकले प्रीतिलाई सम्झिउन् । उसाे त चिया मानिसहरूका हरेक सिजनकाे राेजाइ मात्रै हाेइन, राेजीराेटी पनि त हाे ।

Comment