शुक्रबार १० चैत्र २०७९

सल्यान : पाँच कक्षासम्म सञ्चालित विद्यालयमा शिक्षक पाँच छन्। तर तिनले पढाउनु पर्ने विद्यार्थी भने जम्मा तीन जना। धेरैलाई पत्यार नलाग्ला तर सल्यानको शारदा नगरपालिकामा रहेको एक विद्यालयको वास्तविकता यही रहेको छ।

शारदा नगरपालिका ३ मा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा पाँच शिक्षक र एक कार्यालय सहयोगी गरी ६ जना छन् तर विद्यार्थी जम्मा तीन जना। कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १७ विद्यार्थी भर्ना भएका थिए तर नियमित भने जम्मा ३ जना रहेका छन्।

बालविकासमा ३, कक्षा १ मा ३, कक्षा २ मा ३, कक्षा ४ मा ५ र कक्षा ५ मा १ जना विद्यार्थी भर्ना भएका थिए। बालविकासमा एक जना र कक्षा १ मा दुई जना गरेर तीनजना विद्यार्थी मात्र नियमित विद्यालयमा आउने गरेका छन्।

विद्यालयका प्रधानाध्यापक मिर्जुकुमारी महर्जनले विद्यालयमा धेरै विद्यार्थी भर्ना भए पनि अध्ययन गर्न तीनजना मात्रै आउने गरेको बताइन्। उनले भनिन् ‘सुरुमा विद्यार्थी नियमित जस्तै आउँथे तर अहिले सबैले छोडे, तीनजना विद्यार्थी मात्रै विद्यालयमा आउँछन्।’

प्रअ महर्जनले विद्यालयमा भर्ना भएका विद्यार्थी निजी विद्यालय तथा अरु सरकारी विद्यालयमा जाँदा विद्यार्थी संख्या कम भएको बताइन्। पाँचजना शिक्षकले तीनजना विद्यार्थीलाई वर्षभर पढाउनुहुन्छ त ?  भन्ने प्रश्नमा प्रधानाध्यापक महर्जनले भनिन्, ‘यो वर्ष त तीनजना मात्रै पढाउने त होला, अब अर्को वर्ष विद्यार्थी थप गर्न सकिन्छ कि।’

‘निजी विद्यालय धेरै भए, सरकारी विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थाले तर हामीकहाँ त्यो हुन सकेन’, महर्जनले भनिन्, ‘हामी पाँचै जना शिक्षिका छौँ, हाम्रो विश्वास नगरेर पो हो कि, यहाँ विद्यार्थी पठाउन कसैले मान्दैनन्।’

वि.सं. २०७२ सालमा वीपी स्मृति प्रा.वि सिरुवार र द्वारिका प्रा.वि बडाखोला यस विद्यालयमा मर्ज भएका थिए। तर पनि यस विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको छ।


Last Updated on: September 24th, 2022 at 5:36 pm

तपाईको प्रतिक्रिया