
अष्ट्रेलियामा सन् २०२२ अक्टोबर १ बाट न्यूनतम ज्याला वृद्धि हुने भएको छ । उड्डयन, पर्यटन र आतिथ्य क्षेत्रका कार्यरत श्रमिकलाई बढी लक्षित गर्दै वयस्कहरुको न्यूनतम ज्याला प्रति हप्ता ५ दशमलब २ प्रतिशतको बृद्धी हुने भएको हो ।अक्टोबर एकबाट राष्ट्रिय न्यूनतम ज्याला प्रति हप्ता ४० डलरले बृद्धी हुनेछ ।
जुन यसअघिको भन्दा जुन ५ दशमलब २ प्रतिशतले बढी हुनेछ । हप्तामा ८६९ दशमलब ६० डलर भन्दा बढी तलब हुनेहरुको हकमा ४ दशमलब ६ प्रतिशत र हप्तामा ८६९ दशमलब ६० डलर भन्दा कम तलब हुनेहरुको हकमा साप्ताहिक रुपमा ४० डलरको तलबबृद्धी हुने बताइएको छ ।
अक्टोबर १ बाट अब नयाँ राष्ट्रिय न्यूनतम ज्याला प्रति हप्ता ८१२ दशमलब ६० डलर अर्थात प्रति घण्टा २१ दशमलब ३८ डलर पुग्नेभएको छ । पूर्णकालिन कर्मचारीले हप्तामा ३८ घण्टासम्म काम गर्नुपर्नेछ ।
यो पनि – अष्ट्रेलियामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीसहितका विद्यार्थीहरुले अर्थतन्त्रको कुनैपनि क्षेत्रमा ४० घण्टा भन्दा बढी काम गर्न पाउने भएका छन् । श्रमशक्ति अभावलाई सम्बोधन गर्ने उद्देश्यले विद्यार्थी भिसाको कार्य घण्टा प्रतिबन्ध अस्थायी रूपमा २०२३ जुन ३० सम्म हटाइएको हो ।
अब सन् २०२३ जुनसम्म अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी, नयाँ आउने विद्यार्थीसँगै माध्यमिक आवेदकहरूले अर्थतन्त्रको कुनै पनि क्षेत्रमा ४० घण्टाभन्दा बढी काम गर्न छुट पाउनेछन् । अध्ययनको अघि पनि काम गर्न पाइने भएको छ । तोकिएको समयपछि भने विद्यार्थी भिसा बाहकमाथीको काममा लगाइने प्रतिबन्ध यथावत हुने बताइएको छ ।
यसरी जुनकुनै क्षेत्रमा ४० घण्टा बढी काम गर्ने छुट दिइएको भएपनि विद्यार्थीहरूले कामको अधिकार लगायत भिसाका सर्तहरूमा भने सचेत गराइएको छ । अध्ययनका क्रममा अनुपस्थित हुन, शैक्षिक गुणस्तरमा ह्रास ल्याउने गतिबिधि भने गर्न पाइनेछैन ।
विद्यार्थी भिसामा रहेकाहरुले कक्षामा उपस्थित हुन छोड्ने, पाठ्यक्रम अनुसारको प्रगतिमा ह्रास आउने लगायतका भिसा सर्तहरूको उल्लङ्घन गरेमा भने कारबाहीको सामना गर्नुपर्नेछ ।यता, विद्यार्थीलाई ४० घण्टाभन्दा बढी काममा लगाउन छुट दिएको सरकारले रोजगारदाताहरूलाई समेत सचेत गराएको छ ।
विदेशी कामदारहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अष्ट्रेलियाको कार्यस्थल कानून अन्तर्गत सबै कर्मचारीहरूलाई समान अधिकार र सेवासुविधाको प्रत्याभुत गराउन भनिएको छ । परिवर्तित व्यवस्था अनुसार माइग्रेसन ऐन १९५८ को s116(1)(b) मा रहेको प्रत्येक पन्ध्र दिनमा ४० घण्टा भन्दा बढी काम गर्ने विद्यार्थीहरूको भिसा रद्द नगरिने भएपनि माइग्रेसन ऐन १९५८ को s235 र s245AC अन्तर्गतको व्यवस्थाको खिलापमा नजान सचेत गराइएको छ ।
विद्यार्थी भिसा धारकलाई उनीहरूको भिसा सर्तहरूको उल्लङ्घन हुनेगरि काम गर्न अनुमति नदिन भनिएको छ ।