शुक्रबार १० चैत्र २०७९

काठमाडौँ- ‘प्रेमगीत ३’ फिल्मले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ ।नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।

भारतमा फिल्मको हिन्दी संस्करणले भने दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमाएको हो।

ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको छ ।दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले गरी विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।

नेपालमा हाल ‘प्रेमगीत ३’ले फिल्मको नेपाली संस्करण मात्रै हलहरुमा चलिरहेको छ। नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भएको छ। हिन्दी संस्करण रिलिजपछि कमाइमा वृद्धि हुने देखिएको छ ।यता चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ विवादमा पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको पनि बोर्डले खण्डन गरेको छ ।अध्यक्ष भुवन केसीद्वारा जारी प्रेस वक्तव्यमा ६ वटा प्रष्टीकरण उल्लेख छ, जहाँ ‘प्रेमगीत ३’ निर्माण कम्पनी आशुसेन फिल्म्सको कर चुक्तादेखि आइतबार गरिएको सेन्सर सिफारिससम्म चर्चा गरिएको छ ।

वक्तव्यमा उल्लेख छ, ‘असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौं ।’

‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेको छ ।


Last Updated on: September 25th, 2022 at 6:34 pm

तपाईको प्रतिक्रिया