
काठमाडौं । भ्रमणका लागि बजेट नदिएको भन्दै मेयरमाथि विद्यार्थीले आक्रमण प्रयास गरेका छन् ।रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि आक्रमणको प्रयास भएको हो । आइतबार नगरपालिकाको प्राङ्गणमा विद्यार्थीहरूले उहाँ माथि आक्रमण गर्ने प्रयास गरे ।
शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले यादवमाथि आक्रमणको प्रयास गरेका हुन् ।प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो ।
नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।उहाँका अनुसार झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् ।
प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थित नियन्त्रणमा लिएको छ ।विद्यार्थी र प्रहरीबीच करिब डेढ घण्टा ढुंगा हानाहान भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेको छ ।
विद्यार्थीहरूले गरेको ढुंगामुढाबाट पालिकाको कम्युटर, टेबुल, कुर्सीलगायतका सामानहरूसमेत तोडफोड भएको मेयर यादवले बताउनुभयो ।उहाँले जनता समाजवादी पार्टी र एमालेका नेताहरूको उक्साहटमा आफूमाथि आक्रमण प्रयास भएको आरोप लगाउनुभयो ।
केही वडाध्यक्ष र प्रध्यानाध्यापकले विद्यार्थीलाई प्रयोग गरी आक्रमण गराएको उहाँको आरोप छ । उहाँ जसपाबाट निर्वाचित हो ।आधारभूत विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवमाथि पनि उहाँले आरोप लगाउनुभएको छ । विद्यार्थीलाई पेट्रोल दिएर आगो लगाउन उकासएको उहाँमाथि आरोप छ ।