
काठमाडौं । फिल्म रिलिजमा दुःख दिएको भन्दै ‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानलाई फिर्ता गर्ने भएको छ । निर्माता चक्रबहादुर चन्दका अनुसार हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजार खोज्ने कार्यमा योगदान पुर्याएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ का निर्मातालाई सम्मान गरेका थिए ।‘अध्यक्षज्यूले हामीलाई प्रदर्शनमा दुःख दिने काम मात्र गर्नुभयो । हामीमाथि अन्याय भयो,’ निर्माता चन्दले भने, ‘उहाँले सम्मान अनुसार सहयोग गर्नुभएन ।
जसकारण हामीले हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्दैछौं ।’बोर्डले टोकन अफ लभ र खादाबाट सम्मान गरेको थियो । निर्माता चन्दले फेसबुकमार्फत पनि सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । यतिबेला बोर्ड र प्रेमगीत ३ समूहबीच आरोप-प्रत्यारोप चर्किएको छ ।
अध्यक्ष केसीले हिन्दी संस्करणको सेन्सरमा अनावश्यक दुःख दिएको आरोप प्रेमगीत ३ का निर्माताको छ ।चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ विवादमा पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको पनि बोर्डले खण्डन गरेको छ ।
अध्यक्ष भुवन केसीद्वारा जारी प्रेस वक्तव्यमा ६ वटा प्रष्टीकरण उल्लेख छ, जहाँ ‘प्रेमगीत ३’ निर्माण कम्पनी आशुसेन फिल्म्सको कर चुक्तादेखि आइतबार गरिएको सेन्सर सिफारिससम्म चर्चा गरिएको छ ।
वक्तव्यमा उल्लेख छ, ‘असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौं ।’
‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेको छ ।