
काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई दिइँदै आएको भत्ता बढाएको छ। यसअघि उनलाई मासिक २५ हजार रुपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनका लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा आइतबार उनले भने।
२०६२/६३ सालको जनआन्दोलनपछि नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली… ’ कायम भएको थियो। सो गान व्याकुल माइलाले रचना गरेका थिए। त्यसअघि नेपालको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाल…’ थियो। ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली… ’ विभिन्न १ हजार २७२ जनाका रचनामध्येबाट छानिएको थियो।
सो गानमा संगीतकार अम्बर गुरुङले संगीत दिएका थिए। गुरुङको भने निधन भइसकेको छ। त्यस्तै सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
‘संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ। जोशी अस्वस्थ भएपछि केही दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए।
यो पनि – उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । आइतवार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताए ।
उनले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धन अनिवार्य रहेको उल्लेख गरे ।
उपराष्ट्रपति पुनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण रहेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताए ।