शुक्रबार १० चैत्र २०७९

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक रूपमा विक्षिप्त बनेको बताएका छन् ।नाबालिक ब’लात्कारको आरोप लागेका सन्दीपले आइतबार राति सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रमा गम्भीर आँच आउनेगरी समाचार आएको भन्दै गुनासो गरेका छन् ।

भदौ २१ गते प्रहरीमा दर्ता भएको उजुरीबारे आफूले भदौ २२ गते थाहा पाएको सन्दीपले उल्लेख गरेका छन्। उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आएको पनि सन्दीपले उल्लेख गरेका छन्।

“म विरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउनेगरी समाचारहरू आए ।

मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,” उनले फेसबुकमा भनेका छन् । आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै उनले अब नेपाल आएर कानुनी लडाइँ लड्ने बताएका छन् ।

‘डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ। जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ सन्दीपले लेखेका छन्।

“मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटो जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्नेछु । मैले बुझेसम्म नेपालको संविधानले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छ,” उनले भनेका छन् ।

साथै उनले आफूविरुद्ध अफवाह नफैलाउन पनि आग्रह गरेका छन् ।‘राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महसुस भएको छ,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्ने छु।’

यस्तो छ सन्दीपको स्टाटस :-१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ।

म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु। म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए।

मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन। यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु।

झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा।

राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ। मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु।

मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।

म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।🙏


Last Updated on: September 25th, 2022 at 11:44 pm

तपाईको प्रतिक्रिया