शुक्रबार १० चैत्र २०७९

धनकुटाबाट काठमाडौं बसाइँ सरेका प्रेमराज पुरी–लक्ष्मी पुरी (दिवंगत)का पाँच छोरा मात्रै होइन, चार बुहारी पनि सरकारी सेवामा छन् । कान्छी बुहारी रामकुमारी झाँक्री निवर्तमान सांसद हुन् । एकीकृत समाजवादीकी सचिव रहेकी उनी केही समयअघिसम्म मन्त्री थिइन् ।

प्रेमराजका जेठा छोरा जीवनराज उपसचिव हुन् । उनी सर्लाहीको कोष तथा लेखानियन्त्रक छन् । शाखा अधिकृत रहेकी उनकी पत्नी राधिका गिरी पर्यटन विभागमा कार्यरत छिन् । माइला वसन्तराज पनि उपसचिव हुन्, डिल्लीबजार कारागार प्रमुख छन् ।

उनकी पत्नी बबिता मिश्र सहसचिव हुन्, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सचिवका रूपमा कार्यरत छिन् । साइँला छोरा सुभाषबाबु खोटाङका जिल्ला न्यायाधीश हुन् भने उनकी पत्नी ममता भारती आर्मी नर्सिङ कलेजमा सहप्राध्यापक छिन् ।

सुनसरीको कोष तथा लेखानियन्त्रकमा कार्यरत काइँला रामबाबु उपसचिव हुन् । उनकी पत्नी भवानी गिरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा लेखा अधिकृत छिन् । कान्छा छोरा पशुपति भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव हुन् । उनकी पत्नी रामकुमारी राजनीतिमा सक्रिय छिन् ।

सहसचिव बबिताले पारिवारिक वातावरणले पनि सरकारी सेवामा आउन प्रेरित गरेको बताइन् । ‘सरकारी सेवामा लाग्न प्रोत्साहन र सहयोग गर्ने पारिवारिक वातावरणका कारण हामीलाई पनि यतैतिर लाग्न प्रेरित गर्‍यो,’ उनले भनिन् । खोटाङको अर्को सिंगै परिवार पनि निजामती सेवामा छ ।

विदुरप्रसाद भट्टराई–गंगादेवी भट्टराईका ६ छोरी मात्र होइन, पाँचजना ज्वाइँ पनि सरकारी सेवामै छन् । तीन छोरी उपसचिव, दुई शाखा अधिकृत र एक नासु छन् । विदुरप्रसाद आफूले पनि ३६ वर्ष सरकारी सेवामा बिताएका हुन् । जेठी छोरी विष्णुकुमारी भट्टराई उद्योग मन्त्रालयमा उपसचिव छिन् ।

उनका पति चन्द्रप्रसाद फुँयाल भने उपसचिवबाट सेवानिवृत्त भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसचिव रहेकी विन्दा आचार्य माइली हुन् । उनका पति गणेश आचार्य त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका उपसचिव हुन् ।

साइँली रमा भट्टराई दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारी (उपसचिव) छिन् । उनका पति कोषहरि निरौला हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिव छन् । काइँली रेनु भट्टराई आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा शाखा अधिकृत छिन् ।

उनका पति चिरञ्जीवी तिम्सिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हुन् । ठाइँली अनु भट्टराई नेपाल वायुसेवा निगममा नासु छिन् । उनका पति विनोद पराजुली भने सरकारी सेवामा छैनन् । कान्छी जुनु भट्टराई जिल्ला अदालत काठमाडौंमा शाखा अधिकृत हुन् भने उनका पति मिलन कार्की उद्योग विभागमा शाखा अधिकृत छन् ।

माइली विन्दा परिवारबाटै आफूहरूलाई सरकारी सेवामा आउन प्रेरणा मिलेको बताउँछिन् । उनका अनुसार बुबा विदुरप्रसादले ३६ वर्ष सरकारी सेवामै बिताए । ‘बुबा गृह मन्त्रालयअन्तर्गत ३६ वर्ष सरकारी सेवामा रहनुभयो,’ उनी भन्छिन्, ‘यसर्थ हामी सबैलाई सरकारी सेवामा आउन परिवारबाटै प्रेरणा मिल्यो ।’ करिब एक दशकअघि शाखा अधिकृतबाट बुबाले अवकाश पाएको उनले बताइन् । नया पत्रिका


Last Updated on: September 26th, 2022 at 11:17 am

तपाईको प्रतिक्रिया