शुक्रबार १० चैत्र २०७९

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्।

प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन्।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्। घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताए।

‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ उनले भने, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’

उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका थिए। उनले मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको पनि बताए। चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको उनको भनाइ थियो। ‘जनताले अन्यथा फैसला दिन्छ भने पनि मान्य छ,’ उनले भने।

प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै देशलाई आर्थिक क्रान्तिको दिशामा लैजानुपर्ने उनले बताए। ‘तर विभिन्न तत्वहरुले पार्टी र नेताहरुको बदनाम गर्दै परिवर्तन उल्टाउने षड्यन्त्र गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर पार्टी र नेताको बदनाम गरिँदैछ,’ प्रचण्डले भने, ‘यसतर्फ सञ्चार क्षेत्र सचेत रहनुपर्‍यो। सामाजिक सञ्जालको दुरुपयोग हुन दिनुभएन।’

उनले प्रतिगामी तत्वले सामाजिक सञ्जालबाट डर, भ्रम छरेर जनतालाई दिग्भ्रमीत पार्ने कसरत गरिरहेको बताए। संविधान र लोकतन्त्रलाई धरापमा पर्न नदिनेगरी जनताले मंसिर ४ गते फैसला गर्ने दाबी उनले गरे।


Last Updated on: September 26th, 2022 at 12:45 pm

तपाईको प्रतिक्रिया