शुक्रबार १० चैत्र २०७९

काठमाण्डाै – बडादशैँमा काठमाण्डाै उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ ।

यस पटक दशैँमा झन्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या कम थियो ।

तीन वर्षअघि काठमाण्डाै उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाख जनाको हाराहारीमा रहेको तथ्याङ्क छ । दशैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गाेङ्गबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान गाडी नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ । गाडीकाे चाप र भिडभाडका कारण हुन सक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी यात्रु चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दशैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले गाडी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी गाडी चलाएमा खबर गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले पनि दशैँका लागि पर्याप्त गाडी उपलब्ध हुने प्रतिबद्धता जनाउँदै गाडीकाे अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

अहिले उपत्यका भित्रने गाडीकाे तुलनामा बाहिर जाने गाडी र यात्रुको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।


Last Updated on: September 26th, 2022 at 6:10 pm

तपाईको प्रतिक्रिया