
काठमाडौं । भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ ।विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३ जनालाई ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरि लैजाने योजना सार्वजनिक गरेको छ ।
चिनीको मूल्यमा सहुलियत दिइरहेको भाटभटेनीले आफ्ना २३ स्टोरबाट हरेक साता ३/३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउने जनाएको छ ।भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँ र काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी बिक्री गरेको छ ।
भाटभटेनी सुपरमार्केका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलकाअनुसार विभिन्न अफरहरुका साथ सबै सामानमा १० प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।उता प्रधानमन्त्री शेर बहादुर देउवाले महँगी नियन्त्रण र बजार अनुगमन बढाउने विषयमा उद्योगी व्यवसायी र सरोकारवाला निकायसँग छलफल गर्ने भएका छन् ।
देशको वर्तमान आर्थिक अवस्था र दशैं, तिहार र छठ पर्वलाई मध्यनजर राख्दै महँगी नियन्त्रणका लागि बजार अनुगमन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरिय छलफल आयोजना गरिएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले आइतबार बिहान ९ बजे महँगी नियन्त्रण र बजार अनुगमनका विषयमा सरोकारवाला निकायका अधिकारीसँग छलफल हुने जनकारी दिए ।
छलफलमा, गृह मन्त्री बालकृष्ण खाँड, अर्थ मन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, मुख्य सचिव शंकरदास बैरागी, गृह सचिव विनाेद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडाैं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई लगायतका उच्च सरकारी अधिकारी सहभागी हुने छन् ।
छलफलमा सहभागी हुन निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल, नेपाल च्याम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ल लगायतका उद्योगी र व्यवसायीलाई बोलाइएको छ ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयकाे नेतृत्वमा बजार अनुगमन गरेर चाडबाडको समयमा हुने कृतिम महँगी नियन्त्रण कसरी गर्ने, सरकारका तर्फबाट कस्तो कदम चाल्नु पर्ने र उद्योग व्यवसायीका चासो कसरी सम्बोधन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।