
थाक खानेपानी अयोजनाका पाइप चोरी आरोपमा पक्राउ परेको जनप्रतिनिधि आफ्नो पार्टी सदस्य नरहेको नेपाली कांग्रेस मादीले जनाएको छ । नेपाली कांग्रेस मादीका अध्यक्ष यमबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै ती जनप्रतिनिधि कांग्रेसको साधारण सदस्य पनि नरहेको जनाएका हुन् ।
मादी १ का सदस्य खरजंग गुरुङ खानेपानी पाइप चोरी आरोपमा पक्राउ परेका थिए । उनी रुख चुनाव चिह्न लिएर निर्वाचित भएका हुन् । निर्वाचन कानुन अनुसार कुनै पार्टी वा स्वतन्त्र व्यक्ति जुन पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित हुन्छ, ऊ त्यही पार्टीको हुन्छ । उसलाई कारबाही गर्ने राजनीतिक हक त्यही पार्टीको हुन्छ ।
त्यसैले खरजंग आधिकारिक रुपमा कांग्रेसकै जनप्रतिनिधि मानिन्छन् । निर्वाचन आयोगको वेबसाइटमा पनि उनी कांग्रेस जनप्रतिनिधि भएको देखिन्छ ।खरजंगले वडा सदस्य उठ्दा कांग्रेसको रुख चिन्ह नै लिएका थिए । तर उनी खासमा माओवादीका कार्यकर्ता रहेको बुझिएको छ । उनी माओवादीको भातृ संगठन वाइसिएलका मादी गाउँ उपाध्यक्ष समेत हुन् ।
यो पनि – आउँदो मंसिर ४ गते हुने हुने प्रतिनिधि सभा निर्वाचनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिले प्रदेशका १८ क्षेत्रका लागि उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । स्वतन्त्र पार्टी प्रदेश समितिले गण्डकीका १८ निर्वाचन क्षेत्रबाट २३ जनाको उम्मेदवारका नाम केन्द्रमा पठाएको स्वतन्त्र पार्टी प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।
१४ वटा क्षेत्रमा १/१ जनाको नाम पठाउदा ४ क्षेत्रमा भने १ भन्दा बढीको नाम पठाइएको छ । ११ वटै जिल्लाबाट प्राप्त नामावली केन्द्रमा पठाइएको प्रदेश सभापति श्रेष्ठले बताए । प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारका लागि मुस्ताङबाट सुदेश गुरुङ, मनाङबाट मुखिया गुरुङ, लमजुङबाट धर्म केसी, म्याग्दीबाट हरि केसी, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा शेषरमण न्यौपाने र तनहुँ २ बाट विजय जोशी सिफारिस भएका छन् ।
स्याङ्जा १ बाट बोधराज रेग्मी, स्याङ्जा २ बाट टीकाराज गुरुङ, बागलुङ १ बाट इन्जिनियर खिमानन्द कँडेल, बागलुङ २ बाट तिला खत्री, पर्वतबाट जलबहादुर पुर्जा पुन र सन्तोष रेग्मी, नवलपुर १ बाट ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल र नवलपुर २ बाट शालिकराम न्यौपाने सिफारिस भएका छन् ।
गोरखा १ बाट सुवर्ण रोकाहा, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी र बाबुराम मरहठ्ठा, कास्की १ बाट राजु राई र कमल लामिछाने, कास्की २ बाट माधवप्रसाद कँडेल, कास्की ३ बाट योगराज पौडेल सिफारिस भएका छन् । ‘प्रदेशबाट २३ जनाको नाम केन्द्रमा पठाइएको छ, पार्टीको आन्तरिक चुनावबाट उम्मेदवारको नाम हेरफेर हुन सक्छ,’ उनले भने ।
४ वटा निर्वाचन क्षेत्रमा सहमति हुन नसकेका नाममा पार्टीको विधान अनुसार आन्तरिक प्रारम्भिक निर्वाचनबाट छनोट गरी उम्मेदवार सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए ।