शुक्रबार १० चैत्र २०७९

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले विजयादशमीको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। हाल अष्ट्रेलियामा रहेकी शाहले दशैंको शुभकामना दिँदै देशबारे सोच्न समेत आग्रह गरेकी छन्। शाहले दशैंको शुभकामना दिँदै देश निर्माणमा सबै एकजुट भएर लाग्न ढिला त भइसकेको छैन भनेर प्रश्न गरेकी छन्।

यस्तो छ शाहले दिएको शुभकामना सन्देश- मुटुभरी देशको माया हुँदाहुँदै पनि छातीमा देशको माया सजिए तापनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ। अनि थोरैका रहर र धेरैको बाध्यता हुन सक्दछ।

जन्मभूमि नेपाल, यहाँको माटोमा मिठो सुगन्ध छ। सौन्दर्य छ, मौलिक संस्कृति छ, अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ। आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ। विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर राजनीतिक परिस्थितिको सामना गरिरहेको छ।

गौरवशाली वीरहरुको, सगरमाथाको अनि गौतम बुद्धको देश नेपाल आज अनेकौं विषम र जटिल परिस्थितिमा फँसेको हामीमाझ स्पष्ट छ। हामीले नगरे कसले गर्ने? र अहिले नगरे कहिले गर्ने? तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ। विकसित राष्ट्रियहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ।

अब विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ। आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिला त भइसकेको छैन रु भन्ने आह्वानका साथ सबैलाई सोच्ने आग्रह गर्दछु।

हाम्रो चाडबाडले सजिएको सुन्दर देशको एक ठूलो पर्व वडादसैंको अवसरमा अस्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर रहनुभएका समस्त नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी एवम् यस हिमानी कोष अस्ट्रेलिया र अमेरिकाका च्याप्टरका सम्पूर्ण सदस्यहरुलाई माता भवनी सधैं आशीर्वाद दिउन् भन्ने शुभेच्छाका साथ समृद्धि, आयु र आरोग्यको लागि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु धन्यवाद।


Last Updated on: September 26th, 2022 at 11:47 pm

तपाईको प्रतिक्रिया