शुक्रबार १० चैत्र २०७९

काठमाडौं । सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाएको छ । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालनको सम्झौता गरेको अर्थ मन्त्रालयले जनाएको छ।

तीन महिनाको अग्रिम सूचना दिएर भने दुई पक्षले जुनसुकै बेला सम्झौता रद्द गर्न सक्ने गरी सम्झौता भएको छ ।मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलो पटकलाई नेपाल सरकार अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन गर्नु पर्ने भएको छ । केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्री गर्ने समेत जिम्मा पाएको छ ।

बिक्री–वितरणबाट प्राप्त रकम कारखानाको सञ्चालन एवं स्तरोन्नती गर्ने खर्च गरी प्रचलित कानुन बमोजिम करपछि रकममध्ये ५० प्रतिशत कोष खडा गरी बाँकी ५० प्रतिशत रकम वार्षिक रुपमा नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने समेत शर्तमा उल्लेख छ ।


Last Updated on: September 27th, 2022 at 10:43 pm

तपाईको प्रतिक्रिया