
काठमाडौं । आगामी चुनावमा अछाम १ बाट एकल सिफारिसमा परेका एमाले नेता भीम रावलको विकल्पको खोजी शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि सुदुरपश्चिम क्षेत्रका नेताहरुबीच रावलको विकल्पका विषयमा छलफल समेत भएको छ ।
सोमवार साँझ ओलीलाई भेट्न पुगेका प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीबीच ओलीको विकल्पबारे छलफल भएको स्रोतले जनाएको छ ।
रावलको नाम एकल सिफारिस भएपनि उनी पार्टी नीति विपरीत चल्न खोजेको तथा सम्पर्कमै रहन नचाहेको भन्दै ओलीलाई विकल्प खोज्न आग्रह गरिएको र ओली पनि त्यसमा सहमत रहेको एक नेताले जानकारी दिएका छन । ‘उहाँको नाम सिफारिस गरेकै हो तर उहाँ कुनै बैठक, छलफल कतैपनि देखिनुहुन्न ।
’ छलफलमा सहभागी एक नेताले भने–‘रावलजीको विकल्प खोज्न हामीले अध्यक्षलाई सुझाव दिएका छौं । पार्टी नीतिभन्दा माथि कोही हुँदैन ।’ रावलको नाम एकल सिफारिस भएकोप्रति ओलीले सुदूरपश्चिमका नेताहरूसँग चासो व्यक्त गरेका छन् ।‘तीन जना पठाउनुपर्ने एकल कसरी भयो ? भनेर ओलीले चासो राखेका हुन ।
माधवकुमार नेपालसँग नगएर एमालेमै बसेका मध्ये तल्लो कमिटीबाट एकल सिफारिस हुने रावल एक मात्र नेता हुन । तर ओलीले रावलसँग आफ्नो संवाद नै नभएको भन्दै विकल्प खोज्नुपर्नेमा जोड दिएका छन । ओली आत्मालोचना गरे मात्रै टिकट दिने तयारीमा छन ।
रावलविरुद्ध बालकोट पुगेका एक नेताका अनुसार यदि रावलले आत्मालोचना नगरे विकल्पका रूपमा रावलको ठाउँमा अर्का नेता कृष्ण जैसीलाई प्रतिनिधिसभाको टिकट दिन प्रस्ताव गरिएको छ ।