शुक्रबार १० चैत्र २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ थियो।

बुधबार काठमाडौँमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाए।

उनले मुलुकले संघीयता धान्नै नसक्ने जिकीर गरे। राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो। वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दाबी गरे।

उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन।

जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ। कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने? यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो।

देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो। समाज विकृत भयो। देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो। संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिँदैन।

भौगोलिक रुपमा त झन् संघीयता धान्ने नसकिने गम्भिर विषय हो।’ वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली काँग्रेसमा विचलन आएको आरोप समेत लगाए।


Last Updated on: September 28th, 2022 at 4:54 pm

तपाईको प्रतिक्रिया