शुक्रबार १० चैत्र २०७९

मेची आँखा अस्पतालले एक व्यक्तिले गरेको आँखा दानबाट दुई जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ ।पाँचथरको फिदिम नगरपालिका–१ का लेखक तथा साहित्यकार रामबहादुर गुरुङ (रामप्रकाश समथिङ)ले आँखा दान गरेका थिए ।

उनको गत भदौ ३० गते निधन भएपछि उनको आँखाको नानी संकलन गरिएको थियो ।मेची आँखा अस्पतालका आँखा नानी संकलन केन्द्रका प्राविधिक पुष्प अधिकारीको टिमले मृतकको परिवारको स्वीकृति लिएर आँखाको नानी निकालेर मेची आँखा अस्पतालको नानी संकलन केन्द्रमा राखेको थियो ।

उक्त आँखाको नानी दुई भिन्न व्यक्तिलाई तीन दिनको अवधिमा प्रत्यारोपण गरिएको मेची आँखा अस्पतालले जनाएको छ । कसैको मृत्यु भएमा आँखाको नानी आठ घण्टाभित्र निकाली सक्नुपर्ने र १४ दिनभित्रमा अन्य व्यक्तिलाई प्रत्यारोपण गरिसक्नुपर्ने बताइएको छ ।

मेची आँखा अस्पतालकी डा. इसा बिष्टले संकलन गरेर ल्याइएको आँखाको नानी सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिइन् । लामो समयदेखि आँखाको नानीमा फुलो परेर दुबै आँखाको दृष्टि गुमाएका दुई व्यक्तिले आँखा दान गरिएको आँखाको नानी प्रत्यारोपणपछि दुबै व्यक्तिले दृष्टि पाएका छन् । उनीहरुले आँखाको प्रत्यारोपणपछि खुशी व्यक्त गरेका छन् ।

यसैबीच मेची आँखा अस्पतालले मृत्युपछि जलेर खरानी भएर जाने जाने आँखालाई दान गर्न आग्रह समेत गरेको छ । आँखा दान गरेमा दृष्टिविहीनले दृष्टि पाउने भएकाले सबैले आँखा दान गर्नुपर्ने मेची आँखा अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताइन् । अस्पतालले गुरुङको परिवारलाई धन्यवाद दिदैं सबैले नेत्र दान गर्नुपर्नेमा जोड दिएको छ ।


Last Updated on: September 28th, 2022 at 6:15 pm

तपाईको प्रतिक्रिया