शुक्रबार १० चैत्र २०७९

काठमाडौं । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् ।तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् ।

यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् ।साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् ।

युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ ।छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।त्यस्तै विदेश मन्त्री पनि राजपरिवारकै सदस्यले निरन्तरता पाएका छन् । फैसल बिन फरहान विदेशमन्त्रीको रुपमा निरन्तरता पाएका हुन । अर्थ र लगानी मन्त्रीले पनि निरन्तरता पाएका छन् ।

युवराजलाई प्रधानमन्त्री बनाएर ८६ वर्षीय राजाले शक्ति हस्तान्तरण सुरु गरेको टिप्पणी खाडी मुलुकहरुमा भइरहेको छ । यद्यपि अझै केही समय मन्त्रिपरिषद बैठकको अध्यक्षता भने राजाले नै गर्ने छन् ।राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ३७ वर्षका युवराज मोहमदले सन् २०१६ मा ‘भिजन २०३०’ सार्वजनिक गरेका थिए । जसमा साउदीलाई अरब तथा इस्लामको केन्द्र बनाउने उल्लेख गरिएको छ ।


Last Updated on: September 28th, 2022 at 8:58 pm

तपाईको प्रतिक्रिया