शुक्रबार १० चैत्र २०७९

काठमाण्ठूका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए। विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा एउटा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएर राखेको देखे।

उनीहरू त्यहाँ पुग्ने बित्तिकै नरेशकी श्रीमती शोले मासूमपुरका मातापिता र मान्यजनहरूले उनीहरूका नाममा एक-एक वटा मैनबत्ती बाले र दीर्घायुको कामना गरे।अनि दुवैजनालाई केही दक्षिणा दिए र आशीर्वाद पनि। धर्म र संस्कृति नै भिन्न भएको देशमा पुग्दा पनि नरेशलाई नेपाल छाडेको जस्तो अनुभूति भएन।

उनलाई तेहरानस्थित आफ्नो ससुराली घरमा टीका नलगाइने दशैँ मनाइरहेको जस्तो लाग्यो। “इरान पुगेर त्यस्तो कुरा पहिलो पटक देख्दा मलाई निकै नै अनौठो लागेको थियो। मलाई त इरानीहरूले पनि दशैँ नै मान्छन् कि जस्तो लाग्यो,” उनले बीबीसीसँग भने।इरान पुगेपछि दशैँकै जस्तो चलन भएको कुन चाड रहेछ भन्ने खुलदुली मेटाउने क्रममा नरेशले त्यो इरानी नयाँ वर्ष अर्थात् नौरोज भएको थाहा पाए।

कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दशैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग गरिने सब्जी भनिने जमरा हो। नरेशका अनुसार नौरोजमा ‘स’बाट नाम उच्चारण सुरु हुने विभिन्न सातखाले चिजहरू राखेर एउटा टेबल सजाइएको हुन्छ।त्यसलाई हाफ्सिन टेबल भनिन्छ र त्यसमा सब्जी अनिवार्य हुन्छ।

तर इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउने गर्दैनन्।नौरोजलाई इरानी नयाँ वर्षका रूपमा चिनिए पनि यो त्यहाँ मात्र मनाइँदैन। संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नौरोज इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ।

दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बाङ्ग्लादेशका केही स्थानमा पनि नौरोज मनाइने युनेस्कोको आधिकारिक वेबसाइटमा उल्लेख छ। नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन नभएको श्रेष्ठ बताउँछन्।”सुरुमा उनीहरूले जौलाई भिजाएर एउटा सेतो कपडामा पोको पार्छन्।

केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ,” श्रेष्ठले भने, “त्यसलाई एउटा थालमा राख्छन् र त्यही त्यो बढ्न थाल्छ। नछोपिने हुनाले त्यो पहेँलो होइन हरियो देखिन्छ।” युनेस्कोको आधिकारिक वेबसाइट र नौरोजबारे लेखिएका अन्य सन्दर्भ सामग्रीहरूमा जनाइए अनुसार नौरोज मनाउने तरिका पनि नेपालमा दशैँका बेला गरिने नवरात्री पूजासँग मिल्दोजुल्दो देखिएको छ।

नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ। दशौँ दिन त्यसलाई एउटा टेबलमा सजाएर राखिन्छ। अनि आफन्तहरू कहाँ जाने र भोजभतेर गर्ने चलन हुन्छ।त्यसअघि दशैँको टीका जस्तै हाफ्सिन टेबल अगाडि गएर आएका आफन्तका नाममा मैनबत्ती बाल्ने गरिन्छ।

दशैँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन चल्छ, तर नौरोज भने १३ दिनको हुने नेपालका लागि इरानका अवैतनिक महावाणिज्य दूत समेत रहेका श्रेष्ठले जानकारी दिए। “१३ दिनका दिन त्यो जमरा पनि नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने चलन रहेछ,” उनले भने।

नरेशले वर्णन गरेको नौरोज र नेपालको नवरात्रि पूजाको विवरण मिल्दोजुल्दो देखिएको छ। के त्यसले नेपालको दशैँ र इरानको नयाँ वर्षबीच कुनै सम्बन्ध देखाउँछ त?पूर्वीय धर्म र संस्कृतिको अध्ययन गरेका इतिहासकारहरू भन्छन्- नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान-इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको हुन सक्छ।

युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापक दिवाकर आचार्यका अनुसार दक्षिण एशियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ।उनी भन्छन्, “शतपथ ब्राह्मणमै हेर्ने हो भने पनि पश्चिमबाट पूर्वतर्फ अर्थात् अध्यारोबाट उज्यालोतर्फ सरेको भन्ने देखिन्छ।

त्यसमा सुरुमा अग्नि त्यसपछि पुरोहित र अनि मिथी राजा पूर्वतर्फ लागेको भन्ने विवरण छ। जसको नामबाट पछि मिथिला बनेको हो। यस हिसाबले नेपालमा अहले चलनचल्तीमा रहेका धेरै कुराहरू पश्चिमबाट पूर्व नै सरेका हुन्।” उनी उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू मिल्ने दाबी गर्छन्।

तर अहिले राजनीतिक कारणले फरक देशहरू बनेको र ऋग्वेदिक धर्ममा धेरै परिवर्तन आएका कारण फरक देखिएको आचार्यले बताए। मुस्लिम धर्मको प्रभावसँगै धेरै कुराहरू हराए पनि पुरानो संस्कृतिका कतिपय कुराहरू अहिले पनि जीवित पाइने आचार्य बताउँछन्।

आचार्यका अनुसार नेपालका लिच्छवीहरूको पुर्ख्यौली थलो खोज्दै जाँदा सिरिया, इरान र इराकतिर पुग्ने गरेको छ।त्यसले पनि कतिपय सांस्कृतिक कुराहरू त्यताँबाट आएका थिए भन्ने देखाउँछ।

दिवंगत भइसकेका भाषाशास्त्रका एक प्राध्यापक बालकृष्ण पोखरेलले विभिन्न भाषाका शब्दहरूको निर्वचनको अनुसन्धान र व्याख्या गरेर लेखेको खस जातिको इतिहासमा पनि नेपालका खसहरू इरान, इराक, सिरियातिर बाटै आएको लेखेका छन्। बीबीसी न्यूज नेपाली


Last Updated on: September 28th, 2022 at 11:19 pm

तपाईको प्रतिक्रिया