मंगलबार १८ आश्विन २०७९

काठमाडौं । कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख र प्राविधिक सहायक (प्रास) का कारण किसानको करोडौं भुक्तानी रोकिएको छ ।

निमित्त कार्यालय प्रमुख राहुल पाण्डे र प्रास कृष्णप्रसाद शर्माको लापरबाहीका कारण किसानहरूको सवा तीन करोड रुपैयाँ अहिलेसम्म भुक्तानी हुन नसकेको बताइन्छ ।गत असार २५ गतेसम्म भुक्तानी भइसक्नुपर्ने रकम हालसम्म किसानहरूले पाउन सकेका छैनन् ।

किसानहरू समयमै कागजात पेश गरे पनि प्रास शर्माले विभिन्न बहाना देखाउँदै समयमै ‘फिल्ड भेरिफिकेशन’ नगर्ने र कार्यालय प्रमुखले पनि समयमै तोक नलगाउँदा भुक्तानी हुन नसकेको स्रोतको दाबी छ ।

प्रास शर्माले आफूले मन नपरेको योजनामा काम सकिए पनि त्यो क्षेत्रका अन्य योजना नसकिएसम्मको बहाना देखाउँदै भुक्तानीको निम्ति झुलाएको किसानहरूको गुनासो छ ।

यस्तै कार्यालय प्रमुखले पनि कतिपय किसानलाई धम्काउने र नम्बर समेत ‘ब्लक लिष्ट’ मा राखिदिने गरेको आरोप लागेको छ । कार्यालयमा अन्य कर्मचारीलाई समयमै काम गर्न लगाउनुको सट्टा आफू हाकिम भएकाले अरुले भनेको मानिँदैन भन्दै अराजक व्यवहार देखाउने गरेको कर्मचारीहरूको भनाइ छ ।

असार २५ गतेसम्म मात्र भुक्तानी हुने सूचनाका आधारमा गत असार १६ गते नै सम्पूर्ण बिल भरपाईसहित निवेदन दर्ता गरिएको थियो । तर हालसम्म भुक्तानी नपाइएको माडीचौरकी किसान पम्फा पुनले गुनासो गरिन् ।

‘तरकारी ब्लक अन्तर्गत हामीले बिऊ, ट्रयाक्टर खरिद र टनेल निर्माण गरेका छौं,’ पुनले भनिन्, ‘त्यस वापतको १२ लाख भुक्तानी हुन बाँकी छ ।’उनीहरूले ५०–५० प्रतिशतको लागत साझेदारीमा २४ लाख बराबरको काम गरेका थिए ।

यस्तै स्मार्ट कृषि गाउँ घोडागाउँले पनि असार २० गते नै सम्पूर्ण कागजात पेश गरेको थियो । तर हालसम्म भुक्तानी पाउन नसकेको किसान बलबहादुर खत्रीको भनाइ छ ।

‘मैले असार २० गते नै फाइल पेश गरेको थिएँ,’ खत्रीले भने, ‘तर हालसम्म भुक्तानी नपाउँदा हामी मर्कामा परेका छौं ।’ अन्य किसानबाट आफूले गाली खानु परेको उनको गुनासो छ ।

किसानहरूको ठूलो रकम भुक्तानी हुन नसक्नुमा कार्यालयको लापरबाही भएको लेखापाल धनबहादुर नेपालले बताए ।

हामीलाई माथिबाट निर्देशन भएअनुसार असार २४ गते अगावै भुक्तानी हुनुपर्ने हो,’ उनले भने, ‘तर कार्यालय प्रमुखबाट तोक लागेर फाइल लेखामा नै ढिलो आयो ।’


Last Updated on: August 20th, 2022 at 3:40 pm

तपाईको प्रतिक्रिया