मंगलबार १३ मंसिर २०७९

लमजुङ। राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ। चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलाे ६ सयमा बेच्न नगरपालिकाले मूल्य ताेकेकाे हाे।

नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ। दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका- १ बोराङखोला र वडा नम्बर ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ।

यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असाेज हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए। विगतका बर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिएको भन्दै नगरपालिकाले चाडपर्व लक्षित गरी मूल्य निर्धारण गरेकाे हाे।

यो पनि – डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ ।आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार–व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिइरहेका हुन् ।

करिब तीन वर्ष दुबईमा काम गरी नेपाल फर्केपछि कृषि व्यवसायका रुपमा बाख्रापालन गदै आइरहनुभएका डोटी पूर्वचौकी गाउँपालिका–७ का देव बोगटीले विदेशकोभन्दा आफ्नै गाउँघरमा राम्रो कमाइ भएको बताउनुभयो । विसं २०७२ सालमा विदेशबाट फर्किनु भएका उहाँले २०७३ सालदेखि दुई–चारवटा बाख्राबाट सुरुआत गर्नुभएकोे व्यवसायमा हाल ६०, ७० वटा बाख्रा पुगेको बताउनुभयो ।

“घरपरिवार त्यागेर अरुको देशमा गएर मजदूरी गर्नुभन्दा आफ्नो गाउँघरमा केही व्यवसाय गर्दा आम्दानी बढ्नाका साथै आत्मसन्तुष्ठी पनि हुँदोेरहेछ,” बोगटीले भन्नुभयो, “अहिले यस व्यवसायबाट वार्षिकरुपमा रु आठ लाखसम्म आम्दानी हुने गरेको छ ।”

उहाँ मात्र होइन सहकारीको रोजगार छोडेर कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरी लोकल कुखुरापालन गरिरहनुभएकी पूर्वचौकी गाउँपालिका– ४ साना गाउँकी सरस्वती कुँवरले पनि आफ्नै व्यवसाय सुरुआत गरेपछि आन्दानीका स्रोत बढ्नाका साथै आर्थिकरुपमा सबल हुँदै

आएको बताउनुभयो । उहाँले भन्नुभयो,“थोरै आम्दानीबाट सुरुआत गरिएको कुखुरापालन हाल व्यावसायिक रुपमै अघि बढेको छ ।”करिब रु १५ लाख बराबरको लगानीमा फार्म सञ्चालन गर्नुभएकी सरस्वतीले लोकल कुखुराको माग धान्न सकिरहनुभएको छैन । व्यावसायिकरुपमा कुखुरापालन गर्दा दुबै दम्पती स्वरोजगार हुनाका साथै छोराछोरीलाई पढाउन लेखाउन सहयोग पुग्ने गरेकोे बताउनुभयो ।

उहाँले सञ्चालन गरेको फार्ममा भेटनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रलेसमेत सहयोग गरेको थियो ।व्यावसायिकरुपमा पशुपालन गर्दा आर्थिक स्थितिमा सहयोग पुग्नाका साथै छोराछोरी पढाउन सहयोग पुगेको बडिकेदार गाउँपालिका–४ बुराउसेका तारासिँह मन्नले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्नो जीवनकालमा धेरै वर्ष भारतमा मजदुरी गरेँ तर केही प्रगति गर्न सकिन बल्ल अहिले आयआर्जको बाटो खुलेजस्तो अनुभव भइरहेको छ ।’’ तारासिँहले अहिले व्यावसायिकरुपमा बाख्रा पालन गर्दै आइरहनुभएको छ । हाल ७०, ८० वटा बाख्रा पाल्नुभएका उहाँले आफूलाई खोर सुधारमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहयोग गरेको बताउनुभयो ।

जिल्लाको समग्र पशुपक्षी विस्तार र घाँस सुधारमा वृिद्ध गरी आत्मनिर्भर बनाउने कार्यक्रमलाई निरन्तरता दिने गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्गबहादुर साहले बताउनुभयो ।


Last Updated on: September 29th, 2022 at 10:45 pm

तपाईको प्रतिक्रिया