
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ४४ सिट पाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने सहमति भएको एक शीर्ष नेताले जानकारी दिए ।ती नेताका अनुसार कांग्रेसले ८४ सिट लिने सहमति भएको छ ।
एकीकृत समाजवादीलाई १६ सिट पाउने सहमति भएको ती नेताले जानकारी दिए ।तर, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बिचमै उठेका थिए । “सिटमा चित्त नबुझेर हुनसक्छ । माधव नेपालमा बिचमै उठेर जानुभयो । अब भोलि सबै टुंगो लगाउने भनिएको छ,” ती नेताले भने ।
नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा मिलाउन बाँकी छ ।उता जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टी एक्लै प्रतिस्पर्धमा उत्रिन पनि तयार रहेको बताएका छन्।
गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा रस्साकस्सी चलिरहेका बेला जसपा अध्यक्ष यादवले चुनावमा जान ‘कुनै पार्टीको वैशाखीको आवश्यकता नरहेको’ बताएका हुन्। धनुषाको शहीदनगर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी, आदिवासी लगायतका उत्पीडित वर्गको सम्मान हुनेगरी सिट बाँडफाँट भए मात्र गठबन्धन गर्ने बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा ५ दलीय गठबन्धन निर्माण भएको दाबी गर्दै अध्यक्ष यादवले अहिले बजारमा आएको हल्लाजस्तो गठबन्धनमा सिटको बाँडफाँट नभएको बताए। ‘गठबन्धनमा अहिलेसम्म सिट बाँडफाँटबारे कुनै सहमति भएको छैन। हल्लाको पछाडि नलागौं,’ यादवले भने।
‘त्रुटिपूर्ण संविधान’लाई संशोधनमार्फत् सही ट्र्याकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन यादवले नेता/कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।