मंगलबार १३ मंसिर २०७९

पुरातत्व विभागले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकुचा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो । टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा तीन स्थानमा टुुकुचालाई डुँड हालेको फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।

टुकुचा उत्खननका क्रममा खोलामाथि रहेका संरचनासमेत भत्काउन थालिएपछि स्थानीयले अदालतमा रिट दायर गरेका थिए । रिटमा उच्च अदालत पाटनले तत्काल संरचना नभत्काउन ‘स्टे अर्डर’ दिएको छ ।सोही अर्डरपछि महानगर टुकुचा उत्खननबाट पछि हटेको थियो ।

टुकुचाको यो खण्ड पुरातात्विक स्थान भएको र त्यसबारे थप अध्ययन हुनुपर्ने विज्ञहरूको सुझावअनुसार महानगर पछि हटेको हो ।‘उक्त डुँड ऐतिहासिक हो भन्नेमा शंकै रहेन,’ पुरातत्व विभागद्वारा गठित अध्ययन समितिका संयोजक भास्कर ज्ञवालीले भने, ‘अब यसलाई मौलिक शैलीमै राख्नुपर्छ ।’

उनका अनुसार १० दिन अध्ययन गर्दा पनि टुकुचाको सम्रग पक्ष पत्ता लगाउन नसकिएले अब दसैँपछि यसको थप अध्ययन हुनेछ । तर, हालसम्मको अध्ययनअनुसार भने टुकुचाको यो खण्ड प्राचीन भएको, वीरशमशेरका पालामा निर्माण भएको, बस्ती डुबान हुन सक्ने भएकाले त्यसलाई रोक्न डुँड बनाइएको तथ्य पत्ता लागेको छ ।

यसबाहेक अन्य पक्षको पनि अध्ययन आवश्यक रहेको समितिको भनाइ छ । दसैँपछि समितिले टुकुचाको शिरदेखि अन्त्यसम्मै अध्ययन गर्ने जनाएको छ ।टुकुचाको डुँड ऐतिहासिक हो भन्नेमा शंकै रहेन । यसलाई अब मौलिक शैलीमै राख्नुपर्छ । १० दिन अध्ययन गर्दा टुकुचाको समग्र पक्ष पत्ता लगाउन सकिएन, अब दसैँपछि थप अध्ययन हुनेछ ।

महानगरले खनेको खाल्डा मौलिक शैलीमै पुरिने, टुकुचामा प्रयोग भएका सामानहरू राणाकालीन रहेको पुष्टि भएको छ । अध्ययन समितिले टुकुचाको संरचनामाथि महानगरले विनाअध्ययन अन्धाधुन्ध डोजर चलाएको जनाएको छ । विभागले त्यस क्षेत्रमा अब महानगरलाई डोजर चलाउन नदिने र जहाँ–जहाँ महानगरले खाल्डा खनेको छ, त्यसलाई मौलिक शैलीमै पुर्ने जनाएको छ ।

विभागले टुकुचाआसपासमा रेखांकन गरी त्यसको बाहिरी स्थान खाली गराउन भने महानगरलाई अनुरोध गर्नेछ । ‘महानगरले खाल्डा पारेबाहेकका ठाउँमा पनि टुकुचाको अध्ययन गरेका छौँ, तर कतिपय ठाउँमा टुकुचा कहाँनेरबाट बगेको छ भन्ने अत्तोपत्तो छैन,’ अध्ययन समितिका संयोजक ज्ञवालीले भने, ‘यसबारेमा थप अध्ययन गर्छौँ ।’

समितिले नारायणहिटीको पूर्वी पर्खालको भित्रपट्टि टुकुचा बगेको स्थानमा थप अध्ययन हुन बाँकी रहेको जनाएको छ । त्यहाँ टुकुचा प्रवेश गरेकोबारे समितिले पत्ता लगाएको छ । तर जयनेपाल हलबाट करिब २० मिटर नजिक भने टुकुचाको भाग नै पत्ता लागेको छैन ।

यो क्षेत्रमा कहँबाट बगेको छ भन्ने यकिन गर्न स्थानीयबाट जानकारी तथा अन्य कागजातसमेत भेटिएको छैन । समितिले दरबारको पूर्वी पर्खालबाट दबाइएको टुकुचाको कमलादीस्थित अन्तिम डुँड भेटेको छैन । यसअघि महानगरले डोजरले खन्दा काठमाडौं प्लाजातिरको डुँड भेटेको थियो । तर, त्यो डुँड कहाँसम्म छ भन्ने अध्ययन हुन बाँकी छ ।

विभागले अब यस क्षेत्रमा महानगरको डोजर चल्न नदिने जनाएको छ । प्राचीन भनेर पुष्टि भएकाले अब यसमा महानगरको कुनै अधिकार नरहने अध्ययन समितिको ठहर छ । समितिका संयोजक ज्ञवालीले महानगरले उधिनेको ठाउँलाई जस्ताको तस्तै हुने गरी छोपिने र जमिनमुनिबाट नै पानी लैजाने बताए । यसबाहेक खोला खुला गर्छु भन्ने नाममा डुँड भत्काउन नदिने पुरातŒव विभागको ठहर छ ।


Last Updated on: September 30th, 2022 at 9:29 am

तपाईको प्रतिक्रिया