शुक्रबार १० चैत्र २०७९

धनकुटा : एमाले केन्द्रिय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन्। एमाले धनकुटाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस समेत भएका राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन्।

पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका बताएका छन्। पौडेलले भने, ‘हिजो चारदेखि पाँच बजेको बीचमा मलाई धम्की आयो। आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्यूज्यानको सुरक्षा चाहियो भनेर पत्र पठाएको छु।’

सामाजिक सञ्जालमा सार्वजनिक भएको टेलिफोन सम्वादमा राईले पौडेललाई सरुवा भएर नगए अस्तित्व ‘समाप्त’ पारिदिने धम्की दिएका छन्। उनले भनेका छन्, ‘मैले भन्दिएको छु नि तपाईंको अस्तित्व म समाप्त पारिदिन्छु।’पौडेलले ‘के गर्या छु र हजुर मैले त्यस्तो?’ भनेर सोध्दा राईले उत्तर दिएका छैनन्।

उनले भनेका छन्, ‘तपाईंलाई कसैले जोगाउन सक्दैन, शेरबहादुर देउवा आए पनि, तपाईंको रामचन्द्र पौडेल आए पनि जोगाउन सक्दैन, तपाईं खुरुक्क जाने अब सरुवा लिएर। त्यो राम्रो हुन्छ। कुनै घटना घट्यो भने मलाई नभन्नु।’ त्यसपछि फेरि पौडेलले के गरेंर मैले भन्नु न त? भनेर सोधेका छन्।

त्यसपछि राई भन्छन्, ‘तपाईं जस्ता कति मान्छेलाई झुन्ड्याएर हानिदिएको छु मैले थाहा छ? झुन्ड्याएर हान्न बाँकी छ। म आउँछु कुन दिन। तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।’ पौडेलले हेपेको र दादागिरी चलाएको आरोप राईले लगाएका छन्।

पौडेलले भने नगरपालिकालाई सिस्टममा चलाउन खोज्दा धम्की आएको बताएका छन्। ‘नगरप्रमुख ज्यू र हामीहरू मिलेर सिस्टममा चलाइरहेका छौं। त्यसो गर्दा विगतको क्रम भंग भएपछि विभिन्न बाधा अवरोधहरू सहनु परिरहेको छ,’ उनले भने।


Last Updated on: September 30th, 2022 at 1:34 pm

तपाईको प्रतिक्रिया