
धनुषा । धनुषाको मिथिला नगरपालिकामा करारका कर्मचारी हटाइएको विषयमा सुरू भएको विवाद बढ्दै गएको छ । अघिल्लो नगर प्रमुखको कार्यकालमा नियुक्त भएका १४० मध्ये जनगुनासो बढेको भन्दै ९ जना करारका कर्मचारीको म्याद गत असारबाट नथप्ने नगर प्रमुख महेन्द्र महतोको एकल निर्णयको उपप्रमुखसहित नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का कार्यपालिका सदस्यले विरोध गर्दै आएका छन्।
सो विवादका कारण नगरपालिका कार्यापालिकाको बैठकले सार्थकता नपाएको नगर प्रमुख महतोले बताए।नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामा एमालेका १०, कांग्रेसका ५ र एकीकृत समाजवादीका ६ जना छन्। कार्यपालिका सदस्य जोगी महतोका अनुसार उपप्रमुख सुनिता सिंह बुढाथोकीले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक राखी हटाइएका कर्मचारीको फेरि म्याद थप गर्ने निर्णय गरिएपछि विवाद थप बढेको छ।
विकासका लागि नभई बहुमतको आडमा उपमेयर पक्षले एकलौटी गर्न खोजेपछि विवाद बढेको उनको भनाइ छ। उता धनुषाको शहिदनगर नगरपालिकाका मेयर र अधिकृतले अदालतको आदेशलाई अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको छ । शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र अधिकृत सावन चौधरीले अदालतको आदेशलाई अवहेलना गरी पुनः दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको हो ।
शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको जनता इकाइ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण ठाकुर र अधिकृत सावन चौधरीको हस्ताक्षरित असोज ६ गतेको सूचना निकालेर शिक्षक भर्ना मागेको हो । उच्च अदालत जनकपुरमा परेको उत्प्रेषण मुद्दामा उच्च अदालतले असोज ५ गते नै कार्तिक १ गतेको लागि पेशी तोक्दै यस अवधीभित्र कुनै प्रकारको शिक्षक भर्ना नगर्न अन्तरिम आदेश दिएको हो ।
अदालतले भदौ १९ गते प्रकाशित गरिएको शिक्षक भर्नाको विज्ञापन अनुसार शिक्षक र कर्मचारीहरुको करार नियुक्ती तथा पदपूर्ति नगर्न नगराउन अन्तरिम आदेश दिएपछि असोज ६ गते मेयर यादवको निर्देशनमा अधिकृत चौधरी र प्रधानाध्यापक ठाकुरले अदालतको आदेशलाई धज्जिया उडाउँदै पुनः शिक्षक भर्नाको विज्ञापन प्रकाशित गरेको हो ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ बस्ने कारी खत्वेले असोज ५ गतेमा विद्यालय व्यवस्थापन समितिको नाममा दिएको उत्प्रेषण मुद्दामा अदालतले इमरजेन्सी आदेश दिएको हो ।