Ultimate magazine theme for WordPress.

लोकतन्त्रमा ग्रहण लागिसक्योः पूर्वराष्ट्रपति यादव

222

जनकपुरधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा ग्रहण लागिसकेको बताएका छन्। शुक्रबार जनकपुरधाममा नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन्। उनले लोकतन्त्रका लागि जेल बस्नेबाट नै लोकतन्त्र संकटमा परेको बताए। उनले भने, ‘प्रधानमन्त्रीजीले संसद विघटन गर्नुपर्ने कुनै धारा नै उल्लेख नगरी राष्ट्रपति समक्ष पठाए र उहाँले केही घण्टामै त्यसलाई सदर गर्नुभो,’ उनले भने, ‘संविधानको रक्षा गर्ने काम उहाँको थियो।

त्यस सिफारिसलाई रोकेर सबै पक्षलाई बुझाउनु पर्ने थियो तर त्यस्तो गर्नु भएन।’ उनले अब संसद पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ त्यो आफूलाई पनि थाहा नभएको बताए। उनले संविधान जारी गर्ने बखतमा आफूले तराई–मधेश, हिमाल, पहाडलाई मिलाउन खोजेको भन्दै अहिले त्यसलाई विखण्डन गर्न खोजिएको आरोप लगाए। त्यस्तै उक्त विमोचन कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले लोकतन्त्र नै नरहेको बताए। उनले पौष ५ गतेलाई कालो दिवसको रुपमा लिनुपर्ने समेत बताए।

कोइरालाले वर्तमान अवस्था आउनुमा ओली जत्तिकै दाहाल–नेपाल पनि दोषी भएको बताए। उनले भने, ‘के राजश्व अनुसन्धान विभाग, सम्पति शुद्धिकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत ल्याउनमा दाहाल–नेपाल समूहले सहयोग गरेको होइनन्? गुठी विधेयक ल्याउँदो तिनीहरु चुप लागेको होइन। अहिलेको अवस्थामा जति दोषी ओली छन् त्यतिनै दाहाल–नेपाल पनि छन्।’ राष्ट्रपति प्रधानमन्त्रीको कदम लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताउँदै सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने कुन धारा अनुसार संसद विघटन गरिएको हो त्यो खुलाउनु पर्ने बताए।

उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्रीको कदमविरुद्ध सबै लोकतन्त्र पक्षधर एक भइ अघि बढनुपर्ने आवश्यकता रहेको बताए। डा. कोइरालाले वर्तमान समस्याको विकल्प संसद पुनःस्थापना नै भएकोमा जोड दिए।