शुक्रबार १० चैत्र २०७९

काठमाडौं । दशैँको माहोलमा विदेशबाट घर फर्किने र यहाँको रमाइलो छोडेर बाहिरिनेको दोहोरिलत्तो भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । आफ्नो देश आउनेहरु अभिभावक, आफन्तको आशिर्वाद लिन दंग देखिन्छन भने दश नंग्रा खियाउन उता जानेमा सहिनसक्नु पीडा देखिन्छ ।

चाडपर्वमा घरपरिवार छोडेर जानुपर्ने बाध्यताले उनीहरुको भक्कानो छुटेको हुन्छ ।सर्लाहीका नरेश यादव आफनो छोरा रोजगारीका लागि मलेसिया प्रस्थान गर्न लाग्दा सन्तान उडेको विमानको आवाज सुनेपछि भारी मन लिएर घर फर्कने सुरसारमा छन् ।

उनका लागि यो दशैँ, दशैँ जस्तो नहुने भएको छ । चाडबाडका बेला परिवारका सबै सदस्यसँगै बस्न पाए हुन्थ्यो भन्ने त उनलाई नलागेको कहाँ हो ? तर घर व्यवहार परिस्थितिलाई त्यो मञ्जुर भएन ।महान चाड बडादशैँ घर आँगनमै आइसकेको बेला सयौं युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन् ।

घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाहरुको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । परदेशिनेहरु आँखाको डिलमा आँशु लिएर जबर्जस्ती मुस्काएका छन् ।पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाहरुको मन भारी छ ।

यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा दिएको छैन् ।चाडबाडको समयमा विदेशिनेको संख्या जति छ, त्यतिनै विदेशमा रहेकाहरु घर फर्किरहेका छन् । लामो समयदेखि विदेशमा श्रम गर्दै आएका उनीहरु बर्ष दिनको चाडबाड परिवारसंग मनाउने संयोग जुर्दा दंग देखिन्छन् ।

त्यसो त लामो समयदेखि रोजगारीका लागि विदेशिएका अर्का युवा भने बल्ल बल्ल बिदा मिलाएर आएको तर बिदा नमिल्नेको हकमा विदेशमै भएपनि चाडपर्वको सम्झना आउने गरेको अनुभव छ ।सबैका लागि खाना, नाना र छानाको मेसो देशमै मिलेको भए कसैले पनि यसरी मन अमिल्याएर विदेशको माटो टेक्नु पर्दैनथ्यो होला ।इमेज खबर बाट


Last Updated on: September 30th, 2022 at 9:10 pm

तपाईको प्रतिक्रिया