शुक्रबार १० चैत्र २०७९

दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमका अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।उता हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो ।बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ ।

बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिएm । उनीहरूलाई गन्तव्यसम्म पु¥याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभयो ।


Last Updated on: October 1st, 2022 at 10:32 pm

तपाईको प्रतिक्रिया