
काठमाडौं– नेकपा एमालेका नेता एवं सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीसहितका केही एमाले नेताहरूलाई आइतबार बिहान माओवादीमा प्रवेश गराए।
अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी स्थायी समिति सदस्य राम कार्की लगायतका नेताहरू उपस्थित थिए। २०४१ सालदेखि कम्युनिस्ट राजनीति थालेका चौधरी एमाले सुनसरीका पूर्वजिल्ला अध्यक्ष पनि हुन्। उनी हाल एमालेको प्रदेश कमिटी सदस्य थिए।
२०४९ सालमा तत्कालीन हाँसपोखरी गाविसको अध्यक्ष निर्वाचित भएका उनी २०५४ को स्थानीय निर्वाचनमा पनि सोही गाविसको अध्यक्ष निर्वाचित भएका थिए। उनी २०७४ को स्थानीय निर्वाचनमा इटहरी उपहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।
नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन् ।
चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् ।माओवादीबाट टिकट पाउने पक्का भएपछी प्रचण्डको शरणमा पुगेका उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ । आफ्नो कार्यकालमा सधै विवादमा आएका उनि सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् ।
सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए ।गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ । प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए । प्रदेशसभा क तर्फ नेकपा एसले पनि दावी गरेको छ ।