Ultimate magazine theme for WordPress.

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा भव्य स्वागत

348

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई स्वागत गरेका हुन्। प्रतियोगिताभर नेपाली खाना प्रस्तुत गरेका उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भटमासलगायतका खानेकुरा आकर्षण बनेका थिए। बेलायतमै बस्दै आएका सन्तोष नेपालको सिरहाको कारजन्हामा जन्मिएका हुन्। ३५ वर्षीय सन्तोषले मास्टरसेफमार्फत् धेरैको मन जितेका छन्।

सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदल्दिएको बताउँछन्। नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनै पर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पुर्‍याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बनेका थिए । पाककलाका बादसाह मानिने सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ ।

विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । हो, आज उनै सेफ साह विश्वको नजरमा पर्न सफल भए, जसले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले ।‘नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहेनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ’, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक आज नेपाल आएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने ।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए । बेलायतमा छिट्टै रेस्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेस्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए । उनी भन्छन्, ‘मेहेनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म ‘प्लास्टिकको झोला बेच्दथे र पाउरोटी बेच्थे त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।’अहिले जतिपनि सेफहरू छन् उनीहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए ।

‘नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन । खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ’, उनले अगाडि भने, ‘हाम्रो ‘फुड इन हाइजिन’ छैन’, चिसो खाना नखानु र बोतलबिनाको पानी नपिउनु भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरो जति साथी हुन्छन् तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ ।’एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाको लागि मान्यतै छैन ।

यो क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागि सङ्घर्षको यात्रा शुरु गरेको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र नेपालको पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएको अहिलेको सफलता मिलेको बताए । ‘अब, नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ ।’अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दैछन् ।चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ ।

पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उनको वाणी छ ।