Ultimate magazine theme for WordPress.

मेलम्चीको पानी आउँदा काठमाडौं जलमग्न हुनसक्ने

2,108

मेलम्चीको पानी काठमाडौंमा आउँदा धेरै ठाउँमा पाइप सिपेज हुने अर्थात् पाइपलाइनबाट पानी चुहिने देखिएको छ। बिहीबार परीक्षणको क्रममा कोटेश्वरस्थित सूर्यकोटमा पर्खाल भत्काउने र घर नै जलमग्न हुने गरी सिपेज भएपछि धेरै ठाउँमा चुहावटको सम्भावना देखिएको हो। अहिले पानी वितरणको लागि बिछ्याइएका पाइपलाइनमा १५ प्रतिशत मात्रै परीक्षण भएको छ। यसको मतलब ८५ प्रतिशत पाइपलाइनमा परीक्षणको काम बाँकी छ। त्यसमा पनि पाइपलाइन राख्ने काम कतिपय स्थानमा अझै बाँकी छ।

त्यसो हुँदा मेलम्चीको पानी आएपछि धेरै ठाउँमा ‘लिकेज’ हुने देखिएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)का कार्यकारी निर्देशक कमलराज श्रेष्ठले हाल कोटेश्वर क्षेत्रमा पाइप टेस्टिङको काम भइरहेको बताए। बिहीबार मेलम्चीको पानी वितरणको लागि कोटेश्वरमा पानी परीक्षणको क्रममा सिपेज हुँदा काठमाडौं सूर्यकोटका पर्खाल भत्किएर केही घर जलमग्न भएका छन्।

‘कोटेश्वर क्षेत्रमा टेस्टिङको कार्य भइरहेको छ’, पीआईडीका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने, ‘बिहीबार सूर्यकोटमा पाइपमा सिपेज हुँदा सानो पर्खाल ढलेछ। केही घरभित्र पनि पानी पसेछ।’आयोजनाले नयाँ विस्तार गरेका पाइपलाइनको टेस्टिङको लागि सुन्दरीजलबाट पानी सप्लाई गर्दै आएको छ। हालसम्म नयाँ २ सय किमि पाइपलाइन विस्तारको टेस्टिङ भएको छ। यो क्षेत्रमा १४ हजार घरधूरी छन्।

‘टेस्टिङ थोरै मात्र भएको छ, धेरै बाँकी छ। नयाँ पाइपलाइन जडान भएकोमा १५ प्रतिशत मात्रै टेस्टिङको काम भएको छ’, श्रेष्ठले भने, ‘हिजो (बिहीबार) हिलो पानी जमेको कारणले पर्खाल निर्माणको काम हुनसकेन। पर्खाल निर्माणको लागि बालुवा ल्याइसकेका छौँ। हामीले निर्माण गरिदिन्छौँ।’