
मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।दशैको अष्टमीको साँझ ७ः३० बजे मासु खानेका क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।त्यस्तै उता मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर परियारको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
यो पनि – दशैंको बेला मासुको हड्डी अड्किने जोखिम निकै हुन्छ । रक्सी खाएको बेला होस् वा अरुबेला, हतारमा मासु खाँदा हड्डी अड्किन सक्छ । यस्तो समस्या बुढापाका एवं बालबच्चामा पनि हुनसक्छ ।खासगरी माछाको हड्डी अड्किने समस्या धेरै देखिन्छ ।
यद्यपि खसी, लोकल कुखुरा आदिको हड्डी अड्किएर उपचारै गराउनुपर्ने स्थिति पनि आउन सक्छ । माछाको भन्दा पनि कुखुरा वा खसीको हड्डी अड्किएमा त्यो बढी जटिल हुनसक्छ । त्यसो भए हड्डी अड्किएमा तुरुन्तै के गर्ने त ? डा. अरुण के.सीयसो भन्छन –
हड्डी कुन ठाउँमा अड्किएको हो त्यो कुरा सबैभन्दा पहिले थाहा पाउनु जरुरी हुन्छ । श्वासनलीमा हड्डी अड्किएको हो भने घुचुकमा हिर्काएर त्यो हड्डी निकाल्ने गरिन्छ, जुन आम विधि हो । तर खाना खाने नलीमा अड्किएको हो भने त्यसको प्राथमिक उपचार केही पनि छैन तुरुन्त अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।
घाँटीमा अड्किएको हड्डी कुनै बेला घाँटी छेडेर अड्किएको हुन्छ भने कहिले श्वासनलीमा सिधा भएर तथा तेस्रिएर बस्न सक्छ ।दाँत नभएका व्यक्ति, राम्ररी नचपाई खाना निल्ने व्यक्ति र मादक पदार्थ सेवन गर्दा मासु खाने व्यक्तिहरूमा हड्डी अड्किने सम्भावना बढी हुने विभिन्न तथ्याङ्कले देखाएको छ ।
त्यसैले मासु खाँदा यस्ता व्यक्तिहरूले अलि सचेत भएर मासु खानुपर्छ ।घाँटीमा हड्डी अड्कियो भने यसको उपचार शल्यक्रिया नै हो । अवस्था अलि जटिल छैन भने सामान्य शल्यक्रिया घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्था छ भने सिजरियन शल्यक्रिया नै गर्नुपर्छ ।
केही समयअघि अस्पतालमा एक जना बिरामी हड्डी अड्किएको चार दिनपछि आएका थिए । चार दिनपछि अस्पताल आउँदा उनको घाँटीमा नै इन्फेक्सन भएको थियो । त्यसैले हड्डी अड्कने बित्तिकै अस्पताल गइहाल्नुपर्छ । पछि जाउँला भनेर कुरेर बस्दा जोखिम बढ्न सक्छ ।
हड्डी अड्कियो भने गाउँघरमा सुकेको गुराँस र केरा पनि खान दिइन्छ । केरा तथा गुराँस खाएर अड्किएको हड्डी निस्कन्छ भनेर प्रमाणित छैन । यो तरिका कति ठीक हो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान पनि भएको छैन ।श्वासनलीमा हड्डी अड्किएको हो भने घुच्चुकमा हिर्काउने विधि ठिक हो ।
तर हड्डी घाँटीमा खाना खाने नलीमा अड्किएको हो भने यो विधि ठिक होइन । हड्डी घाँटीमा अड्किएको छ भने तुरुन्त अस्पताल नै पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।