Ultimate magazine theme for WordPress.

टोकियोमा आपतकाल नहट्ने : कोइके

152

टोकियो । टोकियोमा आपतकाल हटाउन पर्याप्त हुने गरी कोरोना भाइरसको संक्रमितको संख्या नघटेको चिन्ता त्यहाँकी गभर्नर युरिको कोइकेले गरेकी छिन् । मंगलबार राजधानीमा २३२ नयाँ संक्रमित थपिएको बताइएको छ ।टोकियो, खानागावा, चिबा र साइतामामा यही आइतबार आपतकालको म्याद सकिदैंछ । यी क्षेत्रमा हटाउने कि नहटाउने भन्नेबारे केन्द्र सरकारले विचार गरिरहेको छ । सोमबार टोकियोमा १२१ संक्रमित थपिएका थिए । यो नोभेम्बर यताकै न्यून दैनिक वृद्धि हो ।

कोरोना भाइरस संक्रमितको संख्या घट्ने क्रम सुस्ताएको कोइकेको भनाइ छ । तर आपतकाल नै हटाउन सकिने गरी पर्याप्त भने नरहेको कोइके बताउँछिन् । मार्च ७ मा आपतकाल नहट्न सक्ने संकेत समेत उनले गरेकी छिन् ।अघिल्लो हप्ता देखिएको औसत दैनिक संक्रमितको तुलनामा नयाँ संक्रमितको संख्या ७० प्रतिशतमा झार्ने लक्ष्य टोकियो महानगर सरकारले राखेको छ । तर यो दर ८० देखि ९० प्रतिशतको बीचमा रहेको र तोकिएको समयमा सो लक्ष्य पूरा हुने नदेखिएको समेत उनले बताइन् ।

तल्लो सदनको बजेट समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री योशिहिदे सुगाले पनि टोकियो र आसपासका क्षेत्रमा सावधानी पूर्वक मात्रै आपतकाल हटाउन बताएका थिए । कुनै निर्णय गर्नु अघि आफूले अन्तिम क्षणसम्मै अवस्था हेर्न चाहेको उनको भनाइ छ ।मंगलबार टोकियोमा देखिएका नयाँ संक्रमित मध्ये ५० जना ३० देखि ३९ वर्षबीचका थिए । ४९ जना २० देखि २९ र ३१ जना ५० देखि ५९ वर्ष उमेरबीचका थिए । ६५ वर्ष वा सो भन्दा बढी उमेरका भने ४८ जना थिए ।

कोरोनाका गम्भीर बिरामीको संख्या अघिल्लो दिनको तुलनामा ७ ले घटेर ५४ मा आएको छ । यो महानगर सरकारले आपतकाल हटाउन तोकेको मापदण्डभित्र पर्दछ । पछिल्लो संख्यासँगै राजधानीमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २९ पुगेको छ ।सोमबार टोकियोमा १२१ नयाँ संक्रमित थपिँदा छिमेकी प्रिफेक्चर चिबामा भने १२७ जना नयाँ संक्रमित थपिएका छन् । आफूहरुले आपतकाल विस्तारको तयारी गर्नु आवश्यक भएको चिबाका गभर्नर केनसाकु मोरिताले बताए ।